वीरगन्ज तनाव : एसपीसहित ४० जना घाइते, कर्फ्यु आदेश जारी

Yangle News
Yangle News
२०८१ चैत्र ३० गते
वीरगन्ज तनाव : एसपीसहित ४० जना घाइते, कर्फ्यु आदेश जारी

वीरगन्जमा आज सामान्य विवादले उग्र रुप लिँदा नेपाल प्रहरीका एसपीसहित ४० जना घाइते भएका छन् । बजार-पसल लगायतका भौतिक पूर्वाधारमा तोडफोड तथा आगजनी हुँदा करोडौंको क्षति भएको छ ।

दुईपक्षीय झडपका कारण र स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र, सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्र सिंहसहित २५ जना प्रहरी घाइते भएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । उनका अनुसार बेलुकीसम्म १५ जना सर्वसाधारण पनि घाइते भएको जानकारी प्राप्त भएको छ । घाइतेहरूरुको वीरगन्जको नारायणी अस्पताल र अन्य अस्पतालमा उपचार भइरहेको छ ।

स्थिति नियन्त्रणबाहिर जान लागेपछि प्रहरीले दुई राउण्ड हवाई फायर र १ सय ३० राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको प्रजिअ अर्यालले बताए । दुई समूहबीचको झडप नियन्त्रणमा लिन सुरुमा प्रहरीले लाठी चार्ज गरेको थियो । तर स्थिति थप तनावग्रस्त बनेपछि अश्रुग्यास र हवाई फायर गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । छपकैयाको इदगाह चोकमा बेलुकी ८ बजेसम्म पनि प्रहरी र स्थानीयबीच झडप नरोकिएपछि नेपाली सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

विवादको कारण

हनुमान जन्मोत्सवको अवसरमा घण्टाघर चोकबाट निकालिएको शोभायात्राका क्रममा दुई समुदायबीच विवाद उत्पन्न भएपछि झडपको रुप लिएको थियो । प्रजिअ अर्यालका अनुसार शनिबार दिउँसो शोभायात्रामा सहभागी एक जनाले बोकेको जय श्रीरामको झण्डा छपकैयाको श्रीराम हलनजिक पुगेपछि एक अपरिचित युवाले खोसेका थिए । त्यसपछि विवाद सुरु भई दुई समुदायबीच झडप भएको र त्यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको थियो ।

त्यस क्रममा छपकैयाका दुई वटा बिरियानी हाउस तथा केही पसलका साथै निजी घरमा समेत तोडफोड भएको थियो । झडपमा उत्रिएका स्थानीयवासीहरुले बिरयानी हाउसका फर्निचर, फ्रिज, चुल्हो, काउण्टर लगायतका सामान सडकमा ल्याएर आगो लगाएका थिए । प्रहरीका अनुसार ८ भन्दा बढी मोटरसाइकल पनि जलाइएको छ ।

कर्फ्यु आदेश जारी

स्थिति नियन्त्रणमा आउन नसकेपछि स्थानीय प्रशासनले वीरगन्ज शहरी क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । वीरगन्जमा शनिबार बेलुकी ६.३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो ।

Yangle News