पाकिस्तानले भारतविरुद्ध जवाफी आक्रमण सुरु गरेको छ । पाकिस्तानले आज भारतका सिमा क्षेत्रमा ड्रोन तथा मिसाइल आक्रमण सुरु गरेको हो ।
भारतले विभिन्न भागमा ‘ब्ल्याकआउट’ गरेको छ । जैसलमेर, श्रीगंगानर तथा चन्डीगढलगायत स्थानमा ब्ल्याकआउट गरेको हो । त्यस्तै राजस्थानका केही भागमा पनि ब्ल्याकआउट गरिएको छ ।
पाकिस्तानल निशाना बनाएका भारतीय सहरहरुमा जम्मू कश्मीरका जम्मू, साम्बा, केरन, तंगधार, कर्नाह, अखनूर, आरएस पुरा सेक्टर र अरनिया रहेका छन् । त्यसैगरी पञ्जाबको पठानकोट तथा राजस्थानको जैसलमेर र पोखरण सहर पनि पाकिस्तानी ड्रोनको निसानामा परेका छन् ।
पाकिस्तानले प्रहार गरेको मिसाइललाई विफल बनाइदिएको भारतले दाबी गरेको छ । आज साँझ जम्मु कश्मिरस्थित हवाई अड्डामा पाकिस्तानले प्रहार गरेको मिसाइलालई भारतको डीफेन्स युनिटले विफल बनाइदिएको हो ।
भारतीय सेनाले दिएको जानकारीअनुसार पाकिस्तानको एफ-१६ जेटलाई भारतले विफल बनाएको हो । भारतको एस-४०० डीफेन्स सिस्टमले पाकिस्तानले प्रहार गरेको ८ मिसाइललाई विफल बनाएको भारतीय सेनाले दाबी गरेको हो ।
यसैबीच धर्मशालामा भइरहेको इन्डियन प्रिमियर लिगको खेल पनि रद्द गरिएको छ । पञ्जाब र दिल्लीबीच भइरहेको खेल १०.१ ओभर खेलेपछि रद्द गरिएको हो । सुरक्षाको कारण देखाउँदै बीसीसीआईले खेल रद्द गरेर खेलाडी र दर्शकलाई मैदानबाहिर निकालिएको छ ।
भारतको पहलगाममा भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ जना पर्यटकको मृत्यु भएपछि भारतले पाकिस्तानमाथि जवाफी कारबाही गरेको थियो । पाकिस्तानको विभिन्न ९ क्षेत्रमा हवाई आक्रमण गरी भारतले आतंकवादको संरचनालाई परास्त गरेको बताएको छ । उक्त कारबाहीमा २६ जनाको मृत्यु भएको थियो भने ४६ जना घाइते भएका थिए ।