जेनजी आन्दोलनपछि स्थगित भएको सवारी लाइसेन्स सेवा आंशिक रुपमा सुचारु गरिएको छ ।
यातायात व्यवस्था विभागले सूचना जारी गर्दै उपत्यकाका चार कार्यालयबाट लाइसेन्स सेवा आंशिक खुला भएको जनाएको छ । विभागका अनुसार एकान्तकुना, राधेराधे, चाबहिल र सानो भर्याङबाट हाललाई विद्युतीय सवारी चालक अनुमतिपत्र र सवारी दर्ता आंशिक रुपमा सुचारु गरिएको हो ।
विभागले नयाँ प्रविधिमा आधारित भएर सवारी दर्ता तथा नवीकरण र इम्बोस्ड नम्बर प्लेटसम्बन्धी सेवाबारे भने निर्णय गरेको छैन । आगामी दिनमा क्रमशः अन्य कार्यालयबाट पनि सेवा विस्तार गरिने विभागले जनाएको छ । कार्यालयअरु नयाँ लाइसेन्सको आवेदन खुलाउन पनि लगभग तयार भएका छन् । तर, विभागको सर्भर नचल्दा उनीहरुले सेवा पूर्ण रुपमा सुचारु गर्न पाइरहेका छैनन् ।
यातायात व्यवस्था कार्यालय चाबहिलका सूचना अधिकारी गिरिजाप्रसाद रिजालका अनुसार चाबहिलस्थित कार्यालय पूर्णरुपमा ध्वस्त छ । दक्षिणकोकास्थित ट्रायल सेन्टरको परीक्षा हल रहेको भवनबाटै सेवा दिनेगरी व्यवस्था मिलाइनेछ ।
उनका अनुसार आजै साँझ वा भोलिदेखि सेवा दिन कार्यालय तयार छ । तर, विभागको सर्भर खुलेको छैन । एकान्तकुना कार्यालयका प्रमुख केशव कुमार जीएमका अनुसार नयाँ लाइसेन्स सेवा सुरु गर्न विभागबाटै केही दिन समय लाग्ने भए पनि आंशिक सेवा भने सुरु भइसकेको छ ।