रोल्पामा आज भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुगेको छ । उद्धार तथा खोजतलासका क्रममा २० जनाको शव घटनास्थलमा फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिकाको जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जीप आज दिउँसो रोल्पाको थवाङ गाउँपालिका-१, सल्याप भन्ने ठाउँमा भिरबाट ८०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनाको खबर प्राप्त हुनेबित्तिकै जिल्ला प्रहरी कार्यालय रोल्पाको टोली घटनास्थल पुगी उद्धार तथा खोजी कार्यमा खटिएको थियो । भौगोलिक विकटता, वर्षा भइरहेको तथा राति भइसकेकाले खोजी तथा उद्धारमा कठिनाइ भइरहेको रोल्पा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी रुकुम पूर्वका सिस्ने गाउँपालिका-५ का ३२ वर्षीय समिर कामी घाइते भएका छन् । उनको आधारभूत जलजला अस्पताल थवाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु भएकाहरूको सनाखत गर्न भने बाँकी छ ।
पानी परेकाले पनि बाटो चिप्लो भएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । दुर्घटनामा परेको जीपमा सवार सबै जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुन जाने तीर्थयात्री रहेको प्रहरीले बताएको छ ।