आर्थिक वर्ष २०८१/८२ मा १८ खर्ब ४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । भन्सार विभागले जारी गरेको गत आर्थिक वर्षको तथ्यांकअनुसार १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख ३१ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको हो ।
आर्थिक वर्ष २०८०/८१ मा १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख २८ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको विभागको तथ्यांक छ ।
गत आर्थिक वर्षमा निर्यात ८१.८० प्रतिशतले बढेको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०८१/८२ मा २ खर्ब ७७ अर्ब तीन करोड २ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । आर्थिक वर्ष २०८०/८१ मा एक खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको विभागको तथ्यांक छ ।
नेपालले भारततर्फ भटमास र सनफ्लावर तेल निर्यात बढाउँदा वैदेशिक वस्तु निर्यातको तथ्यांक बढेको हो । गत आर्थिक वर्षमा एक खर्ब ६ अर्ब ७९ करोड रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको छ । १२ अर्ब ३२ करोड माथिको सनफ्लावर तेल निर्यात भएको तथ्यांकले देखाउँछ । भटमासको तेल उत्पादनको लागि एक खर्ब ८ अर्बको कच्चा पदार्थ आयात भएको छ ।
गत आर्थिक वर्षमा नेपालले २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख रुपैयाँ बढीको वैदेशिक व्यापार गरेको छ । आयातको तुलनामा निर्यात न्यून हुँदा १५ खर्ब २७ अर्ब ९ करोड २५ लाख रुपैयाँमाथिको व्यापार घाटा भएको विभागको तथ्यांकले देखाउँछ ।