गृहमन्त्रीले फिर्ता गरेका सुरक्षाकर्मी फेरि लगे प्रधानमन्त्रीले

Yangle News
Yangle News
२०७९ पुस २१ गते
गृहमन्त्रीले फिर्ता गरेका सुरक्षाकर्मी फेरि लगे प्रधानमन्त्रीले

कार्यविधिविपरीत खटाइएका सुरक्षाकर्मी गृह मन्त्रालयले फिर्ता गरेको एक साता नबित्दै प्रधानमन्त्री कार्यालयले पुनः लगेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृह मन्त्रालयलाई १९ पुसमा पत्र पठाउँदै ती सुरक्षकर्मी फिर्ता गर्न भनेको हो।

‘तहाँ मन्त्रालय मातहत रहेको नेपाल प्रहरीका विभिन्न कार्यालयमा दरबन्दी रही यस कार्यालयका साथै प्रधानमन्त्री सचिवालय व्यवस्थापन शाखा प्रधानमन्त्री निवास बालुवाटारमा कार्यरत देहाय बमोजिमका सवारी चालकहरुलाई अर्को व्यवस्था नभएसम्मका लागि यस कार्यालयमा निरन्तर रुपमा कामकाज गर्नेगरी व्यवस्था हुन आदेशानुसार अनुरोध छ’, प्रधानमन्त्री कार्यालयका शाखा अधिकृत झविन्द्रप्रसाद पाण्डेयले पठाएको पत्रमा भनिएको छ।

यसअघि गृह मन्त्रालयले १२ पुसमा विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्रमा फिर्ता गर्न निर्देशन दिएको थियो।

गृह मन्त्रालयको निर्देशनपछि २२१ जना सुरक्षाकर्मी ४८ घण्टाभित्रैमा फिर्ता भएका थिए। नेपाल प्रहरीका १०३ र सशस्त्र प्रहरीका ११८ जना सुरक्षाकर्मी फिर्ता भएका थिए।

तर यसरी फिर्ता गरिएका सुरक्षाकर्मी पुनः पहिलेकै स्थानमा माग हुन थालेको हो। प्रधानमन्त्री कार्यालयको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले फिर्ता गर्न थालेको हो।

गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले आवश्यक परे प्रधानमन्त्री कार्यालयले सुरक्षाकर्मी माग गर्न सक्ने बताए।

‘यसअघि फिर्ता गरेका सुरक्षाकर्मी फेरि लगेको भन्ने त मेरो जानकारीमा छैन, तर आवश्यक पर्यो भने प्रधानमन्त्री कार्यालयले माग गर्न सक्छ। हामी पनि गृहमा आवश्यक पर्यो भने माग गर्छौं’, पोखरेलले भने।

सशस्त्र प्रहरीलाई पनि यसअघिका सुरक्षाकर्मी फिर्ता गर्न भनिएको छ। सशस्त्र प्रहरीले फिर्ता गरिसकेको छैन। तर आवश्यकता अनुसार व्यवस्था हुने सशस्त्र प्रहरी प्रधान कार्यालय स्रोतले बतायो।

गृहमन्त्री भएपछि शुरुमै लोकप्रिय निर्णय गर्न खोजेका रविलाई सुरक्षाकर्मी फिर्ता हुन थालेपछि शुरुबाटै धक्का लागेको छ। अनावश्यक स्टन्टबाजी गर्न खोजेको आरोपसमेत गृहमन्त्री रविलाई छ।

437 views