प्यालेस्टिनी विद्रोही समूह हमास इजरायलबाट बन्धक बनाएर रिहा गर्न बाँकी सबैलाई रिहा गर्न तयार भएको छ । यससँगै गाजामा युद्धविराम र स्थायी शान्तिको सम्भावनाप्रति आशा जागेको छ ।
अमेरिकी राष्ट्रपतिले हमासलाई शान्ति योजना स्वीकार गर्न वा गम्भीर परिणाम भोग्नका लागि आइतबारको समयसीमा दिएको केही घण्टापछि यी घोषणाहरू आएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल-अमेरिकाबीच भएको गाजा शान्ति सहमति पालना गर्न दिएको समय सीमाको अन्तिम क्षणमा हमासले बाँकी बन्धक रिहा गर्न तयार रहेको जनाएको हो । तर हमासले इजरायल-अमेरिकाबीच भएको गाजा शान्ति सहमतिका केही बुँदामा संशोधन हुनुपर्ने सर्त राखेको छ ।
ट्रम्पले हमासको प्रतिक्रियाको स्वागत गर्दै इजरायललाई गाजामा बमबारी रोक्न आग्रह गरेका छन् । उनले योजनाको मध्यस्थतामा सहयोग गरेको भन्दै कतार, इजिप्ट, साउदी अरेबियालगायत देशहरूलाई धन्यवाद दिएका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायल डोनाल्ड ट्रम्पको योजनाको पहिलो चरण तत्काल कार्यान्वयन गर्न तयारी गरिरहेको बताएका छन् । कतारले हमासको विज्ञप्तिको स्वागत गरेको छ । युद्धविराम कार्यान्वयन गर्नेबारे वार्ता पुनः सुरु गर्न इजिप्ट र अमेरिकासँग समन्वय गरिरहेको बताएको छ ।
यस्तै इजरायली प्रधानमन्त्री नेतान्याहूले गाजासहित मध्यपूर्वमा शान्तिका लागि अमेरिकी राष्ट्रपति ट्रम्पको योजनामा मिलेर काम गर्न तयार रहेको बताएका छन् ।