भिजिट भिसा प्रकरणमा सहसचिवसहित ३ जनाविरुद्ध मुद्दा

Yangle News
Yangle News
२०८२ मंसिर २५ गते
भिजिट भिसा प्रकरणमा सहसचिवसहित ३ जनाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तीर्थराज भट्टराईसहित ३ जना विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ ।

भिजिट भिसा प्रकरणअन्तर्गत भिजिट भिसामा विदेश जाने नेपालीसँग घुस लिएको आरोपमा मुद्दासँग सहसचिव भट्टराई, कविता पौडेल र खेमप्रसाद सुवेदीविरुद्ध अख्तियारले बिहीबार विशेष अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा पनि दायर गरेको हो ।

अख्तियारले अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा तत्कालीन समयमा प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी सम्हालेका सहसचिव भट्टराई, पौडेल र सुवेदी तिनै जनाविरुद्ध समान बिगो माग गर्दै विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ ।

अख्तियारले ती तीनै जनासँग जनही १ करोड ३ लाख ७९ हजार ६ सय बिगो माग गर्दै सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत मुद्दा दायर गरेको छ । अख्तियारले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) को देहाय (क), (ख) र (ग) बमोजिम तथा दफा ३ को उपदफा (३) बमोजिमको कसुरमा सोही ऐनको दफा ३० को उपदफा (१) बमोजिम सजाय हुन मागदावी लिइएको’ जनाएको छ ।

साथै, सहसचिव भट्टराईको हकमा दोब्बर सजायसमेत अख्तियारले माग गरेको छ ।