थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित

Yangle News
Yangle News
२०८२ जेष्ठ १९ गते
थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित

नेपालले महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज थाइल्यान्डसँग २-० को हार व्यहोरेको छ ।

पथुम थानीस्थित थम्मासत रंगशालामा घरेलु टोली थाइल्यान्डलाई जित दिलाउन चात्चावान रोडथोङ र कप्तान जिरापुरन मोङकोल्डीले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएका हुन् । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।

खेलको ५९औं मिनेटमा चात्चावान रोडथोङले गोलको खाता खोलिन् । करिब २५ यार्ड परबाट चात्चावानले गरेको फ्रिकिक प्रहारले नेपाली गोलकिपर अञ्जिला तुम्बाप्पोलाई बिट गर्दै पहिलो बारको जाली चुमेको थियो । यसअघि नेपाली रक्षक पूजा रानाले विपक्षी खेलाडीलाई फउल गरेकी थिइन् ।

खेलको ७४औं मिनेटमा राइट साइडबाट पिचायतिदा मानेवाङ्गले दिएको पासमा बक्सभित्र कुनै पनि निगरानीमा नरहेकी जिरापुरनले वान टचमा गोल गरिन् ।

यसै खेलमार्फत रक्षक मनमाया दमाईले अन्तराष्ट्रिय फुटबलमा डेब्यू गरिन् । विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएकी मनमायाले सोमबार थाइल्यान्डविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा पहिलोपटक राष्ट्रिय टोलीको जर्सी लगाएकी हुन् ।

यो खेलसँगै नेपालले दुई हारका साथ थाइल्यान्ड भ्रमणलाई अन्त्य गरेको छ । यसअघि ‘क्लोज डोर’मा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल १-० ले पराजित भएको थियो ।

यही जुन २९ देखि उज्वेकिस्तानमा हुने एएफसी एसिया कप छनोटको तयारीस्वरुप नेपालले थाइल्यान्ड भ्रमण गरेको हो । छनोट प्रतियोगितामा नेपाल समूह ‘एफ’मा छ । नेपालले प्रतियोगितामा आयोजक उज्वेकिस्तान, लाओस र श्रीलंकासँग खेल्ने तालिका छ । समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष अस्ट्रेलियामा हुने एसिया कपमा स्थान पक्का गर्नेछ ।