शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण पहिरो आउँदा देशभरका छ स्थानका सडकमा आवतजावत रोकिएको छ ।
पहिरोका कारण प्रमुख राजमार्गमा सवारीसाधन आवागमन ठप्प भएको छ भने कतिपय ठाउँमा एकतर्फी सवारी चलाइएको छ । लगातारको वर्षाका कारण काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रिने मार्गसमेत प्रभावित भएका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार भक्तपुरको साँगास्थित झोलुंगेपुलनजिकै झरेको पहिरोले गर्दा आवतजावत प्रभावित भएको छ भने कान्तिलोकपथ ललितपुरको बागमती गाउँपालिका-३, टाकुचेमा खसेको पहिरोले आवात-जावत बन्द छ ।
यसैगरी फर्पिङ-सस्नेरीअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४, महालक्ष्मी खोलामाथिबाट पहिरो खसेकाले आवागमन बन्द गरिएको छ । बीपी राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-११ माम्तीखोला र बुलढुंगामा खसेको पहिरोका कारण सवारी आवागमन बन्द भएको छ ।
यस्तै, अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४, चारकिलोमा सडक भासिएको र धुलिखेल खावामा र ५४ किलोमा पहिरोका कारण आवतजावत पूर्ण रूपमा बन्द भएको ट्राफिक प्रहरीले जनाएको छ ।
यसैगरी, नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५, तुइनखोला पुलमा पहिरो जाँदा आवतजावत बन्द भएको प्रवक्ता सुवेदीले बताए । प्रहरी प्रशासनले नागरिकलाई आवश्यक कामबाहेक पहिरो सम्भावित स्थानमा यात्रा नगर्न, सुरक्षित र वैकल्पिक मार्गको प्रयोग गर्न र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेको छ ।