गुल्मीको रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई उडान प्रभावित बनेको छ । वर्षाको समयमा पानी परिरहने र बाक्लो कुहिरो लाग्ने भएकाले असार दोस्रो सातादेखि उडान अवरुद्ध बनेको रेसुङ्गा विमानस्थलका प्रमुख सुमन थापाले बताए ।
पछिल्लो समयमा साताको तीनपटक नियमित उडान गर्दै आएको नेपाल एयरलाइन्सले असार १४ गतेपछि उडान गर्न नसकेको थापाले बताए । रेसुङ्गा‐काठमाडौँ र काठमाडौँ‐रेसुङ्गाका लागि टिकट काटेका यात्री दैनिक विमानस्थल पुगेर फर्किने गरेका छन् ।
मौसममा सुधार नआउँदासम्म नियमित उडानमा समस्या हुने भएकाले यात्रीको सुरक्षालाई ध्यान दिँदै उडान रोकिएको प्रमुख थापाले बताएका छन् । गुल्मीको रेसुङ्गा विमानस्थल निगमको १८ सिट क्षमताको ट्विनअटर जहाजले उडान गर्दै आइरहेको छ ।
काठमाडौँबाट बिहान साढे छ बजे र रेसुङ्गा विमानस्थलबाट साढे ७ बजे नियमित उडान तालिका छ । सोही तालिकाअनुसार निगमले काठमाडौँबाट रेसुङ्गा लागि सात हजार पाँच सय र रेसुङ्गाबाट काठमाडौँका लागि सात हजार तीन सय रुपैयाँ भाडादर निर्धारण गरेको छ ।
गुल्मीमा गत वर्षदेखि व्यावसायिक रुपमा हवाई उडान सुरु गरिएको थियो । रेसुङ्गा विमानस्थलमा दिउँसोको समयमा अत्यधिक हावा चल्ने भएकाले प्राविधिक दृष्टिकोणले बिहान ११ बजेसम्म मात्र उडान भर्न उपयुक्त मानिन्छ ।
पछिल्लो समयमा हवाई उडान सुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको छ । रेसुङ्गा विमानस्थलबाट काठमाडौँका लागि एक वर्षमा एक सय २५ उडान भइसकेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल सदरमुकाम तम्घासबाट पाँच किलोमिटरको दूरीमा छ ।