काठमाडौं । निर्वाचन आयोगले सवैको सहमति अनुसार नै स्थानीय र प्रदेशसभाको निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गर्ने जनाएको छ ।
शुक्रबार प्रमुख राजनीतिक दलहरुसंगको छलफलपछि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोग आफैँमा निर्णायकभन्दा पनि सहजकर्ता र समन्वयकर्ताका रूपमा रहने भएकाले सरोकारवालासँग समन्वय गरी साझा सहमतिअनुसार निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरिने बताउनुभएको हो । उहाँले निर्वाचनको मिति घोषणाबारे अहिले नै बोल्न हतार हुने उल्लेख गर्नुभयो ।
सङ्घ र प्रदेशको चुनाव सँगै तथा स्थानीय तहको चुनाव अलग समयमा गर्ने परिकल्पनाअनुसार कानुनी र संवैधानिक व्यवस्था गरिए पनि गत वर्ष विशेष परिस्थितिमा प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएकाले तालिकामा फेरबदल परेको उहाँले बताउनुभयो ।
उहाँले संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार आयोगको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने भएकाले दलहरूबाट प्राप्त सुझाव र पृष्ठपोषणका आधारमा आयोगले परामर्श उपलब्ध गराउने उल्लेख गर्नुभयो ।
निर्वाचन आयोग निर्वाचन गर्न स्थापित संवैधानिक निकाय भएकाले निर्वाचनका लागि तयार रहेको उहाँको भनाइ छ ।