काठमाडौं- निजगढ द्रुतमार्ग निर्माणका क्रममा प्रयोग हुने विस्फोटक पदार्थ समयमै आयात हुन नसक्दा काममा ढिलाइ भएको नेपाली सेनाले जनाएको छ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा नेपाली सेनाले भारतबाट विस्फोटक पदार्थ आपूर्ति नहुँदा फास्ट ट्र्याक निर्माणमा ढिलाइ भएको जानकारी दिएको हो ।
नेपाली सेनाको तर्फबाट फास्ट ट्र्याकको निर्माणबारे प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा प्राविधिक महासेनानी भरतलाल श्रेष्ठले जानकारी गराएका थिए । योजना तथा डिजाइन महाशाखा प्रमुखसमेत रहेका श्रेष्ठले भारतबाट माग भएअनुसार विस्फोटक पदार्थ आपूर्ति हुन नसकेको र चीनबाट पनि ढिलो गरी मात्रै विस्फोटक पदार्थ आपूर्ति भएको स्पष्ट पारे ।
भारतबाट विस्फोटक पदार्थको आयात २०७९ भदौमा सुरु भएर ५ महिनाभित्र सक्ने लक्ष्य राखिएकोमा २०८० पुससम्म पनि आपूर्ति हुन नसकेको श्रेष्ठले बताए । चीनबाट भने २०७९ माघबाट ५ महिनाभित्र आयात गरिसक्नुपर्ने विस्फोटक पदार्थ ६ महिनामा आइपुगेको उल्लेख गरेको छ ।
नेपाली सेनाले २०७४ मा द्रुतमार्ग निर्माण सुरु गरेको थियो । ६ वर्षमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिएकोमा हालसम्म सेनाले २८.५६ प्रतिशत मात्र काम सम्पन्न गरेको जानकारी दिएको छ । आयोजनाको ३ वर्ष म्याद थपिएको छ । अब २०८३ चैत मसान्तसम्म निर्माण सम्पन्न गरिसक्ने नयाँ लक्ष्य लिइएको छ ।
पछिल्लो समय द्रुत मार्गसहित विभिन्न जलविद्युत् परियोजनामा समेत विस्फोटक पदार्थको माग बढिरहेको छ । नेपाली सेनाको मकवानपुर, सुनाचरीमा रहेको इमल्सन प्लान्टमा उत्पादन हुने विस्फोटक पदार्थले माग धान्न सकेको छैन । सेनाले मागअनुसारको आपूर्ति गर्न नसकेपछि विकल्पमा व्यवसायीले भारतबाट विस्फोटक पदार्थ ल्याउने गरेका छन् । तर भारतले चिनियाँ कम्पनी संलग्न आयोजनालाई विस्फोटक पदार्थ ल्याउनमा नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) मा कडाइ गरेको छ ।
विस्फोटक पदार्थ अभावका कारण १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना, ७८ मेगावाटको सान्जेन, मेगावाटको त्रिशूली–१ जलविद्युत् आयोजना, ४७.८० मेगावाटको खिम्ती–२, तल्लो इर्खुवा खोलालगायत अरु निर्माणाधिन आयोजनामा ढिलाइ भएको निर्माणकर्ताहरूको गुनाँसो छ ।