नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ गरेको छ । पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनी आइतवार बेलुकी काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका हुन् ।
रायमाझी बिरुद्ध भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर ठगी गर्ने गिरोहलाई सहज हुने गरी नीतिगत निर्णय गराउन भूमिका खेलेको आरोप छ । शनिबार काठमाडौं आएका उनी पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ ।
रायमाझीविरुद्ध जिल्ला अदालत काठमाडौंले वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो । यहि प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका उनका छोरा सन्दीप हिरासतमा छन् ।
शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा पक्राउ परेका ललितपुरका सानु भण्डारीले बयानका आधारमा रायमाझीको संलग्नता खुलेको प्रहरीको दाबी छ । शरणार्थी प्रकरणमा जोडिएपछि नेकपा एमालेले उनलाई पार्टीको सचिव पदबाट निलम्बन गरिसकेको छ ।