स्कुटरको ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको एक क्विन्टल सुन बरामद

Yangle News
Yangle News
२०८० साउन ४ गते
स्कुटरको ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको एक क्विन्टल सुन बरामद

 

हङकङबाट ल्याइएको सुन विमानस्थल भन्सार पार गरेर ट्याक्सीमा राखेर निकालिएपछि राजस्व अनुसन्धानको टोलीबाट सिनामंगलमा बरामद, सम्भवतः सबैभन्दा ठूलो परिमाणको सुन समातिएको अधिकारीहरूको दाबी सुनको बिस्कुटलाई हङकङबाट ल्याएर अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरेर सिनामंगल सडकसम्म पुर्‍याइएको करिब एक क्विन्टल सुन बरामद भएको छ  ।

राजस्व अनुसन्धान विभागको टोलीले सुन बरामद गरेको हो । यो सँगै त्यत्रो परिमाणको सुन  विमानस्थलको भन्सारबाट कसरी पार भयो भन्ने विषयमा भन्सारका अधिकारीहरूमाथि प्रश्न उठेको छ ।

मंगलबार राति १० बजे हङकङबाट आएको क्याथे प्यासेफिकको उडानमा स्कुटरको ‘ब्रेक सु’ को आवरणमा सुन ल्याइएको थियो । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको सम्भवतः पहिलो घटना रहेको अधिकारीहरूको भनाइ छ । यसअघि ०७४ भदौमा चिनियाँ तस्करले भित्र्याएको ८८ केजी सुनसहित काठमाडौंको क्षेत्रपाटीबाट गाडी चालक पक्राउ परेका थिए  ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले सुन बरामद भएको र केही व्यक्ति पक्राउ परेको पुष्टि गरे । ‘थप अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘धेरै तथ्य खुल्न बाँकी नै भएकाले विस्तृतमा अहिल्यै भन्न सक्ने अवस्था छैन ।’

भन्सार कार्यालयले निर्वाध रूपमा सुन पास गरिदिएको थियो । ‘आठवटा कार्टुन बक्सामा ल्याइएका स्कुटरका १ सय ६० वटा ब्रेक सुको जाँचपास भन्सार कार्यालयले गरेको थियो । जसको तौल १ सय ५४ केजी उल्लेख छ । यस आधारमा करिब एक क्विन्टल सुन हुनुपर्छ भन्ने अनुमान गरेका हौं,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘सामान जाँच गर्ने स्क्यानरले कसरी पत्ता लगाएन र यसको सम्भावित सेटिङबारे अनुसन्धान हुँदै छ ।’

बुढानीलकण्ठ ठेगाना उल्लेख गरिएको ‘रेडी ट्रेडर्स प्रालि’ का नाममा विमानस्थल भन्सारले जाँचपास हुन लागेको सामान शंकास्पद रहेको सूचनाका आधारमा राजस्व अनुसन्धान विभागको टोली विमानस्थल पुगेको थियो  । जाँचपासपछि सुन लिएर ट्याक्सीबाट बाहिरिएका दुई जना सिनामंगलमा समातिएका हुन्, पछि तीन जना पक्राउ परेका छन् । ‘सुनको बिस्कुटको आकार बिगारी स्कुटरको ‘ब्रेक सु’ भित्र कभर गरेर ल्याएको देखिन्छ । भन्सारमा भने स्कुटरको ब्रेक सु भन्ने घोषणा गरिएको छ,’ अनुसन्धानमा संलग्न अधिकारीले भने ।

विभाग स्रोतका अनुसार विमानस्थल भन्सार कार्यालयबाट ठूलो मात्रामा सुन चोरीपैठारी हुन लागेको सूचना राजस्व अनुसन्धान विभागलाई १० दिनअघि नै प्राप्त भएको थियो ।

भन्सार जाँचपास गरेर विमानस्थलबाट बाहिर ल्याइएको सुन बरामद भएपछि मंगलबारै भन्सार एजेन्टसँग केरकार गर्दा अरू दुई जनाको नाम खुलेको थियो । त्यसपछि बुधबार बुढानीलकण्ठबाट एक जना र जोरपाटीबाट अर्का व्यक्तिलाई पक्राउ गरेको विभाग स्रोतले जनाएको छ । मंगलबार बरामद गरिएको सुन नक्कली फर्म खडा गरी त्यसकै नाममा प्रज्ञापनपत्र खोलेर ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘रेडी ट्रेडर्स प्रालि’ का सञ्चालक दिलीप भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई, सहयोगीको आशंकामा रामकुमार भुजेल, हर्क राई र ट्याक्सी चालक अशोक लामा पक्राउ परेका हुन् । पाँचै जनालाई विभागको हिरासतमा राखिएको छ ।

केही दिनअघि मात्रै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सारमा प्रहरीको समेत उपस्थिति बढाउनेबारे कुराकानी भइरहेको जनाएका थिए ।

करिब एक क्विन्टल सुन मंगलबार राति बरामद गरिए पनि यो प्रकरण बुधबार साँझ मात्र सार्वजनिक गरिएको थियो ।

249 views