जेरार्ड पिकेले फुटबलबाट सन्न्यास लिने घोषणा

Yangle News
एजेन्सी
२०७९ कार्तिक १८ गते
जेरार्ड पिकेले फुटबलबाट सन्न्यास लिने घोषणा
MADRID, SPAIN - MAY 22: Gerard Pique of FC Barcelona celebrates after his team beat Sevilla 2-0 in the Copa del Rey Final between Barcelona and Sevilla at Vicente Calderon Stadium on May 22, 2016 in Madrid, Spain. (Photo by Denis Doyle/Getty Images)

स्पेन तथा  बार्सिलोनाका भेट्रान डिफेन्डर जेरार्ड पिकेले फुटबलबाट तत्कालै सन्न्यास लिने घोषणा गरेका छन् ।

बार्सिलोना र अल्मेरियाबीच शनिबार क्याम्प नोउमा हुने खेलपछि पिकेले फुटबलबाट तत्काल सन्यास लिने घोषणा गरेका हुन् । ‘नोउ क्याम्पमा अल्मेरियाविरुद्धको खेल नै मेरो व्यवसायिक खेल करिअरको अन्तिम खेल हुनेछ,’ पिकेले सामाजिक सन्जालमा लेखेका छन् ।

‘पछिल्ला केही साता धेरै मानिसहरूले मेरो बारेमा कुरा गरिरहेका छन् । मैले अहिलेसम्म केहि भनेको छैन,’ पिकेले भने, ‘तपाईंहरु जस्तै, म सधैं बार्सिलोनाको फ्यान रहेको छु र म फुटबल परिवारमा जन्मेको थिए ।’

‘मैले त्यो सानो जेरार्डको बारेमा धेरै सोचिरहेको छु, उसको सबै सपनाहरू पूरा भएका छन् । उनी बार्सिलोनाको पहिलो टोलीमा पुगे र सम्भव भएसम्म हरेक ट्रफी जिते,’ जेरार्डले भने, ‘उनी युरोपेली र विश्व च्याम्पियन बने र विश्वका सर्वश्रेष्ठसँग खेले । उनी टोलीका कप्तान मध्ये एक पनि भए ।’

‘म बार्सिलोनामा आबद्ध भएको २५ वर्ष भइसक्यो । म छाडेर फर्किए । फुटबलले मलाई सबै दिएको छ, बार्सिलोनाले मलाई सबै दिएको छ । र अब त्यो बच्चाको सबै सपना साकार भएको छ, मैले निर्णय गरेको छु कि अब यो यात्राको अन्मित समय हो । यो शनिबारको खेल क्याम्प नोउमा मेरो अन्तिम खेल हुनेछ ।’

चार वर्षअघि नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका पिकेलाई स्पेनका प्रशिक्षक लुइस इनरिकेले यसै महिना कतारमा हुने फिफा विश्वकप २०२२ को लागि स्पेनको ५५ सदस्यीय प्रारम्भिक टोलीमा समावेश गरेका थिए । ३५ वर्षीय डिफेन्डर पिकेले सन् २०१८ पछि स्पेनका लागि खेलेका छैनन् ।

पिकेले यो सिजन बार्सिलोनामा केवल ८ खेल मात्रै खेलेका छन् । उनी बार्सिलोनाको उपकप्तान रहेपनि टोलीमा स्थान बनाउन उनले एरिक गार्सियासँगै जुल्स कुन्डे, एन्ड्रियास क्रिस्टेन्सेन, रोनाल्ड एराउजो र मार्काेस अलन्सोसँग संघर्ष गरिरहेका छन् । सन् २००९ देखि २०१८ सम्ममा पिकेले स्पेनका लागि १०२ क्याप जित्दा ५ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

बार्सिलोनाको एकेडेमीकै हुर्किएका पिकेले २००४ देखि २००८ सम्म इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा खेलेका थिए । उनले बार्सिलोनामा ८ ला लिगा, ७ कोपा डेल रे, ६ सुपर कोपा, ३ च्याम्पियन्स लिग, ३ युइएफए सुपर कप र ३ फिफा क्लब विश्वकप जितेका छन् ।

यस्तै युनाइटेडबाट समान एक प्रिमियर लिग, कम्युनिटी शिल्ड र च्याम्पियन्स लिग जितेका छन् । स्पेनबाट समान एकपटक फिफा विश्वकप र युरो कप जितेका छन् ।