प्रधानमन्त्री केपी शर्मा ओलीले आज शांघाई सहयोग संगठन (एससीओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले मुलुकको हित, द्विपक्षीय र अन्तर्राष्ट्रिय विषयमा आफ्नो भनाइ राखेका छन् ।
चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतबारदेखि सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गरेका छन् । चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच दिने भ्रमणमा चीनमा छन् । प्रधानमन्त्री ओली र विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखबीचको दुईपक्षीय भेटवार्ताको क्रम पनि जारी रहेको छ ।
यसै क्रममा प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । उनीहरुबीच दुई देशको आपसी सम्बन्धका विविध आयामबारे छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । यसका साथै उच्चस्तरीय भ्रमणको आदानप्रदान र आर्थिक, शैक्षिक, सांस्कृतिक, सूचना प्रविधि, लगानी लगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको जनाइएको छ ।
आजै उहाँले लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोल्ङलौन सुसौलिथबीचसँग पनि दुईपक्षीय भेटवार्ता गर्नुभएको थियो ।