मधेश प्रदेशसहित गण्डकी पूर्वमा मुसलधारे वर्षाको सम्भावना

Yangle News
Yangle News
२०८२ साउन २५ गते
मधेश प्रदेशसहित गण्डकी पूर्वमा मुसलधारे वर्षाको सम्भावना

आगामी मंगलवारदेखि तराई मधेशका जिल्लाहरूमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मनसुनको न्यून चापीय रेखा केही उत्तरतर्फ सर्ने र जलवाष्पयुक्त हावाको मात्रा बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले बताए । यसैको प्रभावले मंगलबार दिउँसोपछि मधेश प्रदेशका केही ठाउँमा अति भारीसहित कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा भारी वर्षा गराउने उहाँको भनाइ छ । बुधवारदेखि पश्चिमतर्फ बढी वर्षा हुनेछ ।

महाशाखाका अनुसार २४ घण्टामा २०० मिलिमिटर वा त्योभन्दा बढी पानी परेमा अति भारी वर्षा भनिन्छ । यस्तो अवस्थामा बाढी, पहिरो र डुबानको जोखिम बढ्छ । पर्सिदेखि हुने वर्षा तराई मधेशमा बढी हुने सम्भावना रहेकोले चरम खडेरीको मारमा परेका मधेशवासीलाई राहत हुने आशा छ । पछिल्लो हप्ता मधेशमा वर्षा भइरहेकोले पानीको उपलब्धतासँगै चर्को गर्मीको मार पनि घटेको छ ।

पछिल्लो २४ घण्टामा मधेशका धेरै जिल्लामा वर्षा भएको छ । धनुषाको तुल्सीमा १३७ मिलिमिटरभन्दा धेरै वर्षा भएको जल तथा मौसम विज्ञान विभागको तथ्यांक छ । वर्षासँगै मधेशमा धान रोपाइँमा पनि सुधार भएको छ । अहिलेसम्म ८० प्रतिशत नजिक रोपाइँ भइसकेको प्रदेश सरकारले जनाएको छ । खडेरीले सुक्खा भएर धाँजा फाटेका मधेशका खेतहरूमा हरियाली देखिन थालेको छ । मंगलबारदेखि हुने वर्षाले मधेशको पानी संकट कम गर्ने भए पनि विशेषगरी पहाडी क्षेत्रमा पहिरोको जोखिम र केही ठाउँमा डुबान पनि हुन सक्ने भएकोले त्यसतर्फ सचेत रहन मौसमविद्ले आग्रह गरेका छन् ।