रविन्द्र ढाँटलाई राष्ट्रपतिको सम्मान

Yangle News
Yangle News
२०८२ साउन २१ गते
रविन्द्र ढाँटलाई राष्ट्रपतिको सम्मान

राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको भविष्य खेल क्षेत्रमा नै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

भारतमा भएको म्याट्रिक्स फाइटर नाइट टाइटल विजेता रविन्द्र ढाँटको सम्मानमा बुधबार राष्ट्रपति भवन शीतल निवासमा भएको स्वागत कार्यक्रममा राष्ट्रपति पौडेलले देशलाई विश्वभर चिनाउने खेल क्षेत्रको विकास एवम् खेलाडीको सम्मान गर्न सरकारले ध्यान दिनुपर्ने बताए ।

देश विदेशका प्रतियोगितामा प्रतिस्पर्धा र प्रशिक्षणको अवसरसँगै आवश्यक सुविधा दिएर खेलाडीको सम्मान गर्न सके मात्रै खेलाडीहरुले कीर्तिमान र सफलता हासिल गर्न सक्ने उनले बताए । राष्ट्रपति पौडेलले व्यक्तिको शारीरिक, मानसिक र समग्र व्यक्तित्व विकासमा खेलको महत्व रहेको धारणा राखे ।

उनले फाइटर रविन्द्र ढाटले आफ्नो खेल कौशल, सामर्थ्य, शक्ति र खेलप्रतिको अगाध समर्पणले यो उपाधि जित्न सफल हुनु नेपालीहरूका लागि गौरवको विषय भएको बताए ।