प्रदेश सांसद रेखा शर्मा पक्राउ, के थियो मुद्दा ?

Yangle News
Yangle News
२०८२ चैत्र १६ गते
प्रदेश सांसद रेखा शर्मा पक्राउ, के थियो मुद्दा ?

लुम्बिनी प्रदेश सभा सदस्य रेखाकुमारी शर्मालाई प्रहरीले गएराति काठमाडौंको धुम्बाराहीस्थित निवासबाट पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

२०८१ जेठ १४ गते काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित शर्माको घरबाट एक बालिकाको उद्धार गरेको थियो । दाङकी ती नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर शारीरिक तथा मानसिक हिंसा गरेको आरोप सांसद शर्मामाथि लागेको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले यस विषयमा सार्वजनिक रूपमा आवाज उठाउँदै सांसद शर्माले बालिकालाई कुटपिट गर्ने, बाहिर निस्कन नदिने र उचित बसोबासको व्यवस्था नगरेको आरोप लगाएका थिए । महानगरले २०८१ जेठ ३० गते जिल्ला प्रहरी परिसर काठमाडौंमा बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ (२) (ङ) बमोजिम जाहेरी दर्तासमेत गरेको थियो ।

उक्त ऐनमा बालबालिकालाई शारीरिक चोट पुर्‍याउने वा आतंकित पार्ने, तिरस्कार, उपेक्षा वा भेदभाव गर्ने, मानसिक पीडा दिने वा एक्ल्याउने कार्यलाई हिंसा मानिएको छ । यस्तो कसुर पुष्टि भएमा ५० हजार रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ । यसअघि २०८१ माघमा सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेपछि मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गर्दै पीडित बालिकासँग माफी समेत मागेका थिए ।

यो विवाद सर्वोच्च अदालतसम्म पनि पुगेको थियो । बालिकाका बुबाले महानगरले छोरीलाई गैरकानुनी थुनामा राखेको भन्दै ‘बन्दी प्रत्यक्षीकरण’को रिट दायर गरेका थिए ।

लामो समयको अन्योल र कानुनी बहसपछि प्रहरीले सांसद शर्मालाई पक्राउ गरेसँगै यो प्रकरणले नयाँ मोड लिएको छ । अब उनीमाथि थप अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढ्ने प्रहरीले जनाएको छ ।