‘बाफिया विधेयक पुनर्लेखन आवश्यक छैन’

Yangle News
Yangle News
२०८२ असार १२ गते
‘बाफिया विधेयक पुनर्लेखन आवश्यक छैन’

अर्थ मन्त्रालयले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ (बाफिया) लाई संशोधन गर्न बनेको विधेयक पुनर्लेखन गर्न आवश्यक नभएको पत्र प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा पठाएको छ ।

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई जेठ २८ गते निर्णय गर्न लगाएर विधेयक पुनर्लेखन गर्न आवश्यक नरहेको पत्र समितिमा बुझाएको हो । ‘प्रतिनिधिसभा, अर्थ समितिमा छलफलको क्रममा रहेको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्लेखन गर्न आवश्यक नदेखिएको व्यहोरा समितिलाई जानकारी गराउने,’ समितिमा बुझाएको पत्रमा उल्लेख छ ।

समितिको जेठ १९ गतेको बैठकले नेपाल राष्ट्र बैंक, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको समन्वयमा अर्थ मन्त्रालयलाई विवरण पेस गर्न निर्देशन दिने निर्णय गरेको थियो ।

सो बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, कानुन मन्त्रालयका प्रतिनिधि र अर्थ मन्त्तालयका प्रतिनिधि सहभागी थिए । १९ गतेको समितिको निर्णय राष्ट्र बैंक र यी दुई मन्त्रालयलाई जेठ २२ गते पठाएको थियो ।

तर, कानुन मन्त्रालय र राष्ट्र बैंकको रायबिना नै अर्थमन्त्री पौडेलले आफैँ पुनर्लेखन गर्न आवश्यक नभएको निर्णय गरेर समितिलाई पत्र पठाउन कर्मचारीलाई निर्देशन दिए । यो विधेयक जस्ताको तस्तै पारित भए बैंकिङ क्षेत्रमा भुइँचालो आउने भन्ने अभिव्यक्ति गभर्नर पौडेलले समितिमा नै दिएका थिए ।

यो विधेयकमा बैंकर र व्यवसायी छुट्याउन जोड दिइएको छ । तर, यो व्यवस्था राम्रो भए पनि व्यवहारिक रूपमा कार्यान्वयन गर्न नसकिने अहिलेको स्थिति रहेको विज्ञको भनाइ छ । यसलाई पुनर्लेखन गरेर मात्र लागु गर्नुपर्ने विज्ञको सुझाव छ ।