निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने प्रधानमन्त्री कार्कीको प्रतिवद्धता

Yangle News
Yangle News
२०८२ अशोज ३१ गते
निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने प्रधानमन्त्री कार्कीको प्रतिवद्धता

प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुशीला कार्कीले वर्तमान सरकारले छ महिनाको अवधिमा निष्पक्ष निर्वाचन गएर निर्वाचित सरकारलाई शान्तिपूर्ण रूपले सत्ता हस्तान्तरण गर्ने बताएकी छन् ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयको हलमा शुक्रबार काठमाडौंस्थित राजदूत, कूटनीतिज्ञ तथा विकास साझेदार संस्थाका प्रतिनिधिसमक्ष देशको राजनीतिक अवस्था, आगामी निर्वाचन, सुशासन र अन्तर्राष्ट्रिय साझेदारीबारे विस्तृत ब्रिफिङ दिने क्रममा उनले सो कुरा बताएकी हुन् ।

परराष्ट्रमन्त्रीको समेत जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री कार्कीले हालैको जेनजी आन्दोलनपछि नेपालको राजनीतिक परिवेशमा भएको तीव्र परिवर्तन र त्यसले उत्पन्न चुनौती तथा अवसरबारे जानकारी गराइन् । उनले सरकारको प्राथमिकता देशमा स्थायित्व कायम गरी निष्पक्ष निर्वाचन सम्पन्न गराउनु रहेको स्पष्ट पारिन् । आन्दोलनले नागरिक समाजमा पारदर्शिता, जवाफदेहिता र सुशासनप्रति उत्कर्षपूर्ण अपेक्षा पैदा गरेको उनले बताइन् ।

सरकारले सुशासन र जवाफदेहितातर्फ उठाएका कदमहरू पनि प्रधानमन्त्री कार्कीले प्रस्तुत गरिन् । विदेशमा बस्ने नेपालीहरुलाई मतदानमा सहभागी गराउन सकिने सम्भावनाका बारेमा पनि छलफल भइरहेको सो अवसरमा प्रधानमन्त्री कार्कीले बताइन् ।

मुलुकमा जरो गाडेर फैलिएका भ्रष्टाचारमाथि अभियोग चलाउन फाइलहरू खोलेर काम थालिएको बताउँदै प्रधानमन्त्री कार्कीले पारदर्शितालाई बढवा दिन र सार्वजनिक कोषको दुरुपयोगका बाटाहरू बन्द गर्न राष्ट्रिय बजेटलाई संशोधन गरिएको पनि सो अवसरमा जानकारी गराइन् । साथै, हालै भएको विध्वंसनात्मक घटनाका विषयमा छानबिन गर्न आयोग गठन गरर काम भइरहको पनि उनले जानकारी गराइन् ।

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनले सबैलाई सुन्ने, प्रतिक्रिया दिने, सुधार गर्ने र परिणाम दिने सामूहिक जिम्मेवारीको गहिरो ढङ्गबाट बोध गराएको उल्लेख गर्दै यसले सुशासन, आर्थिक अवसर र सार्वजनिक जीवनमा इमानदारीका लागि जनताको आकाङ्क्षालाई झल्काउने बताइन् । यस आन्दोलनले सबैलाई ढिलो नगरी जनअपेक्षाअनुसार परिणाम दिन प्रेरित गरेको उनको भनाइ थियो ।

वर्तमान सरकार गठन भएको करिब एक महिनाको यसअवधिमा राज्यसंयन्त्रभित्रका भ्रष्टाचार, कुशासन र चुनौती मात्र होइन, सुधारको विशाल सम्भावनासमेत पत्ता लगाएको उल्लेख गर्दै उहाँले यो नै विश्वास पुनःस्थापना गर्ने, संस्थाहरू सुदृढ पार्ने र शासन व्यवस्थालाई पारदर्शिता र सेवामुखी दिशातर्फ अगाडि बढाउने उपयुक्त क्षण भएको स्पष्ट पारिन् । यो आन्दोलन पारदर्शिता र जवाफदेहिताको मागमा आधारित रहेको उनको भनाइ थियो ।

आफू नेतृत्वको सरकार जनताको इमानदारी र कानुनको शासनप्रतिको प्रबल मागको प्रतीक भएको उल्लेख गर्दै उनले देशको शासन प्रणालीमा उच्चतम मापदण्ड स्थापित गर्ने दृढ सङ्कल्पसहित जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकार पारदर्शी, उत्तरदायी र सही ढङ्गले काम गर्न सक्छ भन्ने देखाउने बताइन् ।

प्रधानमन्त्री कार्कीले हालैको जेनजी आन्दोलनका क्रममा भएको हिंसाका कारण र तथ्यहरू पत्ता लगाउन स्पष्ट अधिकार सहितको न्यायिक छानबिन आयोग गठन गरिएको जानकारी गराउँदै उच्चस्तरीय भ्रष्टाचारका आरोपमाथि विश्वसनीय र निष्पक्ष छानबिनसमेत आरम्भ गर्न लागेको बताइन् ।