साविक विजेता नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब लिग-२०२६ मा विजय सुरुवात गरेको छ । माल्दिभ्सको राजधानी मालेमा बिहीबार भएको समूह ‘बी’अन्तर्गतको खेलमा पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३-१ को सेटमा पराजित गरेको हो ।
खेलको सुरुआतदेखि नै प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा पुलिसले कडा संघर्षपछि ३०-२८ को रोमाञ्चक जित निकाल्यो । दोस्रो सेटमा भने लय कायम राख्न नसक्दा पुलिस २१-२५ ले पछि पर्यो । तर, त्यसपछि खेलमा पुन: नियन्त्रण लिँदै तेस्रो सेट २५-२१ र चौथो सेट २५-२३ ले आफ्नो पक्षमा पार्दै पुलिसले पहिलो खेल जित्यो ।
यस जितसँगै नेपाल पुलिस क्लबले समूह चरणको पहिलो खेलबाटै ३ अंक जोड्दै बलियो शुरूवात गरेको छ । उता उज्वेकिस्तानको हुमो भलिबल क्लबले भने प्रतियोगितामा लगातार दोस्रो हार व्यहोर्नु परेको छ । पुलिसले शुक्रबार इरानको फुलाड एमएससँग र समूह चरणको अन्तिम खेल आयोजक माल्दिभ्सको हुर्रा सिसीसँग खेल्ने तालिका छ ।
समूह ‘ए’मा माल्दिभ्सको क्लब हुम्को, श्रीलंकाको हिर्दारामानी एससी र काजकिस्तानको तुरान एफसी छन् । राउन्ड रोबिन लिगपछि समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।