आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौंका १० वटै क्षेत्रसहित मुलुकभरका निर्वाचन क्षेत्रमा उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारीको मनोनयनपत्र दर्ता भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको उम्मेदवारीको मनोनयनपत्र दर्ता गर्न निर्वाचन आयोगले आज बिहान १०:०० देखि साँझ ५:०० बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा समय निर्धारण गरेको थियो । निर्वाचन अधिकृतको कार्यालय परिसरमा प्रवेश गरिसकेका उम्मेदवारले ५:०० बजेपछि पनि दर्ता गराउन सक्नेछन् ।
आयोगका अनुसार बेलुका ५ बजेसम्म देशभर २ हजार ६ सय ५५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ता गराउने महिलाको संख्या ३ सय ३ जना मात्र रहेको छ । कतिपय जिल्लामा मनोनयन दर्ताको काम चलिरहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।
उनका अनुसार ५ बजेसम्म कार्यालयको परिसरमा पुगिसकेकाहरूले रातिसम्म पनि मनोनयन दर्ता गराउन पाउने भएकोले यो संख्या बढ्नसक्छ । उम्मेदवारहरूको प्रारम्भिक नामावली आजै बेलुका ८ बजेभित्र प्रकाशन हुनेसमेत उनले जानकारी दिए ।
भोलि कार्यालय समयभित्र उम्मेदवारमाथि दाबी विरोध गर्न सकिने कार्यसूची रहेको छ ।