निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ निर्वाचन परिणाम सहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ। बिहीबार प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेका हुन्।
आयोगले बुधबार पत्रकार सम्मेलन गरी अन्तिम मतपरिणाम सार्वजनिक गरेको थियो।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले राष्ट्रपति भण्डारीलाई निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम “प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश गरेको जानकारी दिए। राष्ट्रपति भवन शितल निवासमा आयोजित उक्त समारोहमा निर्वाचन आयोगका पदाधिकारीहरूको समेत उपस्थिति थिय।
आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा बुधबार गरेको थियो। निर्वाचित सांसदको सूची नेपाल राजपत्रमा पनि प्रकाशित गरिने भएको छ।
साथै आयोगले सातै प्रदेशका प्रदेश प्रमुखलाई पनि निर्वाचन मतपरिणामको प्रतिवेदन पेश गर्ने भएको छ। थपलियाका अनुसार पुस २ गते प्रदेश प्रमुखहरूलाई निर्वाचन प्रतिवेदन बुझाउने तयारी छ।
अब केही दिनमा राष्ट्रपतिले नयाँ सरकार बनाउन दलहरूलाई आह्वान गर्नेछिन्।
आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ७५ प्रतिशतभन्दा बढी उम्मेदवारको धरौटी (जमानत) जफत भएको छ।
निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको अन्तिम परिणामअनुसार प्रतिनिधिसभातर्फ २ सय ७५ र प्रदेशसभातर्फ ५ सय ५० जना उम्मेदवार निर्वाचित भएका हुन्। प्रतिनिधिसभातर्फ पुरुष १ सय ८४ र महिला ९१ जना निर्वाचित भए। प्रदेशसभातर्फ भने पुरुष ३ सय ५० र महिला २ सय जना निर्वाचित भएको आयोगको तथ्यांकमा उल्लेख छ।