राष्ट्रिय परिचयपत्रको लागि चाहिने विवरण अब वडामै संकलन गरिने

Yangle News
Yangle News
२०८१ असार १० गते
राष्ट्रिय परिचयपत्रको लागि चाहिने विवरण अब वडामै संकलन गरिने

 

गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्रसम्बन्धी आवश्यक विवरण स्थानीय तहमै संकलन गर्न निर्देशन दिएको छ । २८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई बोलाएर मन्त्रालयले विवरण संकलनका लागि आवश्यक समन्वय स्थानीय तहमै गर्न भनेको हो । सामाजिक सुरक्षा भत्ताका लागि सेवाग्राहीहरूको भीड जिल्ला प्रशासन कार्यालयमा बढेपछि यस्तो निर्देशन गरिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता नारायण भट्टराईले वक्तव्यमार्फत् जानकारी दिंदै सेवाग्राहीको भीड बढेको गुनासो आएका कारण जिल्ला तहबाट नभई स्थानीय तहबाटै विवरण संकलन गर्ने बताए । गृहले २८ जिल्लामा ४३८ प्राविधिकसमेत पठाएको छ ।

एक सूचना जारी गर्दै २४ जेठको मन्त्रिपरिषद्‌को निर्णयअनुसार समाजिक सुरक्षा भत्ता प्राप्त गर्न तोकिएको जिल्लाका सेवाग्राहीले राष्ट्रिय परिचयपत्र बनाएकै हुनुपर्ने व्यवस्था गरेको हो ।

झापा, रौतहट, रुपन्देही, मोरङ, सर्लाही, कपिलवस्तु, सुनसरी, काठमाडौं, दाङ, उदयपुर, भक्तपुर, बाँके, सप्तरी, ललितपुर, बर्दिया, सिरहा, सिन्धुली, सुर्खेत, धनुषा, मकवानपुर, कैलाली, महोत्तरी, चितवन, कञ्चनपुर, बारा, कास्की, पर्सा र तनहुँका लागि यस्तो अनिवार्य व्यवस्था गरिएको हो ।

यसैबीच, सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएका २८ जिल्लामा आगामी भदौ मसान्तसम्म परिचयपत्र नम्बर प्राप्त गरी लाभग्राही परिचयपत्र नवीकरण गरेमा साउन १ गतेदेखिकै भत्ता उपलब्ध गराउने भएको छ । भदौ मसान्तसम्म राष्ट्रिय परिचयपत्र बनाए साउनदेखिकै भत्ता पाइने गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै बताएको हो । बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने व्यक्ति, अशक्त, असहाय र ९० वर्ष माथिका ज्येष्ठ नागरिकलाई भत्ता प्राप्त गर्न राष्ट्रिय परिचय नम्बर आवश्यक नपर्ने भएकाले आफूलाई अनुकूल समयमा सेवा लिनसमेत गृहले अनुरोध गरेको छ ।