ताप्लेजुङको आईएमई लुटपाटमा संलग्न तीनजना पक्राउ, ६ लाख नगद र १४३ तोला सुन बरामद

Yangle News
Yangle News
२०७९ अशोज २५ गते
ताप्लेजुङको आईएमई लुटपाटमा संलग्न तीनजना पक्राउ, ६ लाख नगद र १४३ तोला सुन बरामद

ताप्लेजुङको कञ्चन मनी ट्रान्सफरमा लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले तीन जनाबाट छ लाख १३ हजार ३४० रुपैयाँ र एक सय ४३ तोला सुन सोमबार बेलुकी बरामद गरेको हो।

जिल्ला सदरमुकाम फुङ्लिङस्थित उक्त ट्रान्सफरमा कार्यरत कर्मचारीलाई नियन्त्रणमा लिएर चार लुटेराले यही असोज १७ गते बिहान ९ बजेर २१ मिनेटमा लुटेका थिए। लुटपाटमा संलग्न चार आरोपीमध्ये तीन जनालाई सोमबार राति पक्राउ गरिएको र उनीहरूको साथबाट नगद तथा सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिएसपी कैलाश राईले जानकारी दिए।

पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका–२ का २९ वर्षीय राजन भन्ने राजायन्द्र पर्तेल, झापा शिवसतासी नगरपालिका–१ का २६ वर्षीय चुनबहादुर सुनार र झापाकै अर्जुनधारा नगरपालिका–१० का २५ वर्षीय मणिराज पर्तेल छन्। फरार रहेका एक जनाको खोजी जारी रहेको डिएसपी राईले जानकारी दिए।

उनीहरूबाट बरामद गरेका नगद र सुनका गरगहनाबाहेक एक थान पेस्तोल, कर्मचारीलाई नियन्त्रणमा लिनका लागि प्रयोग गरिएको सामान, डोरी, कैचीलगायत सामग्री पनि प्रहरीले सार्वजनिक गरेको छ।

मनी ट्रान्सफरका सञ्चालक अम्बरकुमार श्रेष्ठले दिएको जाहेरीमा रु ११ लाख ६३ हजार २५० लुटपाट भएको उल्लेख गरिएको छ। यसैगरी हाल सुनको बजारभाउअनुसार रु तीन करोड ३९ लाख ९९ हजार छ सय बराबरको तीन सय ४८ तोला सुन लुटपाट भएको जनाएका छन्।

लुटपाटमा संलग्न लागुपदार्थ सेवनकर्ता भएको प्रहरीले जनाएको छ। आरोपितविरूद्ध अदालतबाट थप १० दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

305 views