आजदेखि काठमाडौं उपत्यकामा इन्द्रजात्रा शुरू भएको छ । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ ।
हनुमानढोकामा इन्द्रध्वजासहितको लिंगो १० बजेर ३१ मिनेटमा ठड्याएपछि शुरू यो जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजार्चनाका साथ आठ दिनसम्म मनाइन्छ । इन्द्रध्वजाको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।
भदौ २१ गतेदेखि २६ गतेसम्म कुमारी, गणेश र भैरव रथयात्रा हुने बताइएको छ । पश्चात २६ गते बेलुका १०ः३२ बजे ईन्द्रध्वजपतन गरी जात्रालाई समापन गरिनेछ । ईन्द्रजात्रा मनाउनको लागि भदौ ९ गते वनयात्रा शुरु गरिएको थियो । सो दिन बेलुका वृक्षकर्तन गरेर इन्द्रजात्राको लिङ्गो बनाइएको थियो ।
उक्त लिङ्गोलाई डोरीको सहायताले तानेर भदौ १५ गते नगर प्रवेश गराइएको थियो । इन्द्रजात्राको लिङ्गो (योसी) ल्याउने, उठाउने, रथखट बनाउने, तान्ने जस्ता जात्रा सञ्चालन कार्यमा नेवार समुदायाका विभिन्न जातिगत समुदायहरुको जिम्मेवारी हुनेछ ।
इन्द्रजात्राको संदर्भमा देवता र असुरबीचको युद्धमा देवगणले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाएर दिएको र ध्वजा इन्द्रले समातेर युद्धमा सहभागी भएको हुनाले त्यस ध्वजालाई ‘ईन्द्रध्वजा’ भनिएको र देवासुर संग्राममा देवताहरुको विजय भएपछि ईन्द्रध्वजाको महत्व बढेको र पूजा भएको प्रसङ्ग पाईन्छ ।
काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायत स्थानमा धुमधामका साथ इन्द्रजात्रा मनाउने प्रचलन छ । भाद्र २१ इन्द्रजात्राको मुख्य दिन हो । उक्त दिन राष्ट्रप्रमुखले गणेश, भैरव र कुमारीको दर्शन गर्ने परम्परा छ ।