२१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको शिलान्यास

Yangle News
Yangle News
२०८० भदौ २६ गते
२१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको शिलान्यास

 

 

रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको शिलान्यास भएको छ । आज ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको आन्तरिक खपतका लागि कोरियन कम्पनीहरुको प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण हुने जलविद्युत आयोजनाको शिलान्यास गरेका हुन् । मंगलबार आयोजित कार्यक्रममा आयोजनाको बाँधलगायत संरचना (हेडवर्क्स) निर्माण कार्यको शिलान्यास भएको हो ।

रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकुमा बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका १ मा भूमिगत विद्युतगृह लगायतका संरचनाहरु निर्माणाधीन छन् । आयोजनाको मुख्य निर्माण गत २०७८ पुसदेखि सुरु गरिएको थियो । आयोजनाको समग्र भौतिक प्रगति २२ प्रतिशत रहेको छ । आयोजनाको बाँध वर्षायाम सकिएपछि निर्माण सुरु गरिने बताइएको छ । आयोजना निर्माणमा हाल करिब १ हजार श्रमिक परिचालित छन् । त्यसमध्ये करिब ५ सय रसुवा जिल्लाका स्थानीय बासिन्दा छन् ।

आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसान एनबेलेटीले कार्य गरिरहेको छ भने प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोइन, विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमलगायतको सेयर लगानी रहेको छ ।

आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ–इस्ट पावर (कोइन) कम्पनी हो । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

 

 

267 views