नेपालकै पहिलो ‘थ्री वे डल्बी एटमस साउण्ड सिस्टम’ र ‘फोर के लेजर प्रोजेक्टर’ प्रोजेक्सनमा आधारित ३ वटा स्क्रिनसहितको मल्टिप्लेक्स सिनेमा हल नेपालगन्जमा सञ्चालनमा आएको छ । बिहीबारबाट सञ्चालनमा आएको ‘सिने रोयल’ नामक सो चलचित्र भवनमा रहेका तीन वटै अडिटारियम अमेरिकाबाट आयात गरिएका हुन् । बेल्जियमबाट प्रोजेक्टर आयात गरिएको र हङकङबाट आयात गरिएका थ्रिडी प्रणाली त्यसमा जडान गरिएको छ । चलचित्र भवनका सञ्चालक राहुल थापाले उद्घाटनको अवसरमा हलबारे जानकारी दिँदै नेपालमै पहिलो पटक विभिन्न विदेशी मुलुकबाट ल्याइएका प्रविधिको प्रयोग गरिएको बताए ।
नेपालमै पहिलो पटक मलेसियाबाट आएको स्पेक्ट्रम सिटिङ सिस्टममार्फत दर्शकका लागि रिक्लाइनर, लाउन्जर र स्लाइडर सिटहरू जडान गरिएको उनले बताए । सञ्चालक थापाका अनुसार तत्काल हलसँगै क्याफेटेरिया पनि सुरु गरिने छ । बिस्तारै विभिन्न सपिङ आउटलेटसँगै एउटा डिपार्टमेन्टल स्टोर पनि खोल्ने योजना रहेको बताउनुभयो । करिब २५ करोडको लागतमा निर्माण गरिएको सो चलचित्र भवनका सबै हलहरू पूर्णरुपमा फायर प्रुफ रहेकाले सुरक्षामा पनि अति नै बलियो प्रणाली अपनाइएको छ ।
दुई वटा हल २५० दर्शक क्षमताको र एउटा हल १५० दर्शक क्षमताको गरेर ५६० जना दर्शक अट्ने क्षमता रहेको छ ।