कोभिड – १९ को महामारीपछि चीनबाट एकैपटक १ सय ८० जना चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका छन् । हिमालयन एअलाइन्सको चार्टर उडानबाट बिहीवार पहिलो पटक आएको पर्यटकको समूहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँती र नेपालका लागि चिनीयाँ राजदूत छेन सोङले स्वागत गरे। चीनियाँ पर्यटकलाई विमानस्थलमै खादा माला सहित पञ्जेबाजाले स्वागत गरिएको थियो ।
पर्यटकलाई स्वागत गर्दै पर्यटनमन्त्री किराँतीले चीन नेपालको पर्यटनको प्रमुख स्रोत बजार रहेकाले कोभिड महामारीपछि चिनीयाँ पर्यटकलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताए । नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा आएको पर्यटकको समूहलाई स्वागत गर्दै उनले पर्यटकको नेपाल बसाई सुखद रहोस् भनी शुभकामना व्यक्त गरे ।
सो क्रममा मन्त्री किराँतीले भैरहवा र पोखराबाट चीनसम्म सिधा उडानका लागि आवश्यक सहयोग र पहल गर्न चिनीयाँ राजदूत सोङसँग आग्रह गरे । जवाफमा राजदूत सोङले नेपाल चिनीयाँ पर्यटकहरुको रोजाईको गन्तव्य भएको बताउँदै नेपालको पर्यटन विकासको लागि चीन सधैँ सकारात्मक रहेको बताए । कोभिडपछि चिनीयाँ नागरिकलाई नेपाल भ्रमण खुला गरिएकोले अब नेपाल आउने चिनीयाँ पर्यटकहरुको संख्या क्रमशः बढ्ने उनले जानकारी दिए ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले कोभिडपछि सन २०२३ मा नेपालको पर्यटन लयमा फकिर्दै गएको उल्लेख गर्दै चिनियाँ पर्यटकको आगमनले नेपालको पर्यटन थप चलायमान हुने बताए ।
आगामी चार्टर्ड उडानहरू मार्फत् थप ७०० यात्रुहरूलाई नेपाल ल्याउने योजना रहेको हिमालयन एअरलाइन्स्ले जनाएको छ । सन् २०२२ मा ५ हजार ५ सय ९५ र २०२३ को मार्चसम्म ६ हजार ३ सय ३७ जना चिनीयाँ पर्यटकले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ ।