सरकार परिवर्तनको तयारीले सेयर बजारमा सकारात्मक प्रभाव

Yangle News
Yangle News
२०८१ असार १८ गते
सरकार परिवर्तनको तयारीले सेयर बजारमा सकारात्मक प्रभाव

सरकार परिवर्तन हुने भएपछि सेयर बजारमा उच्च बृद्धि आएको छ ।  नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने सहमति भएपछि मंगलबार सेयर बजारमा रौनकता छाएको हो । लगातार घटिरहेको सेयर  बजार आज दुई पटक सकारात्मक सर्किट लागेर तल झरेको हो ।

बजार खुलेको एक मिनेटमै ४ प्रतिशतले बजार बढेर २० मिनेटको लागि बन्द भयो । २० मिनेटपछि फेरि खुलेको बजारमा दोस्रो पटक पनि सर्किट लागेर ४० मिनेटको लागि बन्द भयो । सो पछि भने बजार तल झर्यो । उतारचढावमा रहेको मंगलबारको बजार अन्तिममा ४७.०४ अंकले बढेर बन्द भएको छ । आज नेप्से २.२९ प्रतिशतले बढेर २१००.४३ विन्दुमा बन्द भएको हो । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।

सोमबार दुई अर्ब ९९ करोड ९९ लाख ६५ हजार २१ रूपैयाँको सेयर कारोबार भएकोमा मंगलबार चार अर्ब ५७ करोड ६८ लाख ३१ हजार ७२० रूपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ५८ करोड रूपैयाँ वृद्धि भएको हो । आज ३१५ वटा धितोपत्रको एक करोड १६ लाख ४५ हजार ९०५ कित्ता सेयर किनबेच भयो ।

आज कारोबार भएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो ।