बाल मन्दिरको जग्गा अनधिकृत भाडा प्रकरणमा तत्कालीन अध्यक्ष रिता सिंहसहित १७ जनाविरूद्ध ठगी मुद्दा दर्ता भएको छ ।
महान्यायाधिवक्ता कार्यालयको मुद्दा चलाउने निर्णयको भोलिपल्टै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
यसअघि सीआईबीले अनुसन्धान गरी पक्राउ पुर्जीसमेत जारी भइसकेपछि उसको प्रतिवेदनमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो । उक्त निर्णय उच्च सरकारी वकिलको कार्यालयले सदर गरी फाइल महान्यायाधिवक्ताकोमा पठाएको थियो ।
‘नेपाल बाल संगठनलाई ठगी गरी हानी नोक्सानी पुऱ्याएको बिगो ६०,३९,७७,२३१।०५ र साविक मुलुकी ऐन ठगीको महलको ४ नं तथा हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ को दफा २५४ बमोजिम निज प्रतिवादीहरू रीता सिंह, तुलसी नारायण श्रेष्ठ, गणेश भक्त श्रेष्ठ, कृष्णशंकर साह, श्याम कुमार आले, सुवास कुमार पोखरेल, प्रचण्ड राज प्रधान, राम काजी गुरुङ (कोने), योगेन्द्र बहादुर शाही, दिपकदास श्रेष्ठ, प्रविण राज जोशी, मुरारी निधि तिवारी, पुरुषोत्तम राज जोशी, श्रद्धा संघाई, अभिनव सिंघानिया, सिद्धार्थ केडिया, किर्ति प्रसाद पाण्डेबाट पीडित नेपाल बाल संगठनलाई दिलाई भराई पाउन माग दाबी लिइएको छ,’ प्रतिवेदनमा भनिएको छ ।
नक्सालस्थित बृहस्पति विद्यासदन रहेको बाल मन्दिरको जग्गा भाडा प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले केही दिनअघि मुद्दा चलाउने निर्णय गरी मंगलबार जिल्ला सरकारी वकिलमा पठाएको थियो । मुद्दामा सिंहसहित १७ जनाविरूद्ध ६० करोड ३९ लाख ७७ हजार २३१ रुपैयाँ बिगो दाबी गरिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।
लिज अवधि १७ वर्ष बाँकी छदै अध्यक्ष वैद्यले संगठनको २९ रोपनी ४ आना जग्गा बृहस्पति सदन नामक कम्पनीलाई वि.सं. २१३१ सालसम्म लिजमा दिने निर्णय गरेको थियो ।
अनाथ बालबालिकाको हेरचाह र रेखदेखका लागि पञ्चायतकालमा स्थापना भएको बाल मन्दिरको महत्वपूर्ण जग्गा कौडीको भाउमा हत्याएर त्यसबाट लाखौं फाइदा लिने काम भएको सिआइवीले गरेको अनुसन्धानमा उल्लेख छ । सिआइवीको अनुसन्धानकै आधारमा जिल्ला सरकारी वकिल कार्यालयले बुधबार मुद्दा दर्ता गरेको हो ।
संगठनले बाल मन्दिरको २९ रोपनी ४ आना जग्गा बृहस्पतिलाई वि.सं. २१३१ सालसम्म लिज (सस्तो भाडा दर)मा दिने गरी भएको सम्झौता खारेज गरेको थियो ।
अभियोगपत्र: