महिला टी-२० विश्वकपको ग्लोबल छनोट नेपालमा हुने

Yangle News
Yangle News
२०८२ साउन १५ गते
महिला टी-२० विश्वकपको ग्लोबल छनोट नेपालमा हुने

सन् २०२६ मा इङ्ल्यान्ड र वेल्समा आयोजना हुने आइसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता नेपालले आयोजना गर्ने भएको छ । यो प्रतियोगिता आगामी वर्ष जनवरी १२ देखि फेब्रुअरी १ सम्म हुनेछ ।

नेपालको ऐतिहासिक आयोजनामा १० टोलीबीच प्रतिस्पर्धा हुनेछ, जसमा शीर्ष ४ टोलीले मुख्य विश्वकपका लागि स्थान बनाउनेछ । विश्वकप सन् २०२६ को जुन १२ देखि जुलाई ५ सम्म इङ्ल्यान्ड र वेल्समा हुनेछ ।

छनोट प्रतियोगितामा बंगलादेश र आयरल्यान्डले सन् २०२४ को महिला टी-२० विश्वकपमा सहभागिता जनाएका आधारमा स्वतः स्थान पाएका छन् । एसिया क्षेत्रबाट थाइल्यान्ड र नेपालले आफ्नो स्थान सुरक्षित गरेका छन् भने अमेरिकी क्षेत्रबाट संयुक्त राज्य अमेरिकाले छनोटमा स्थान बनाएको छ ।

अहिले बाँकी रहेका ५ स्थानका लागि अफ्रिका र युरोपबाट दुई–दुई टोली तथा ईस्ट एसिया–प्यासिफिक क्षेत्रबाट एक टोली छनोट हुनेछन्, जसका लागि क्षेत्रीय छनोट प्रतियोगिताहरू सम्पन्न हुन बाँकी छन् ।

नेपालमा हुने छनोट प्रतियोगितामा १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । समूह चरणपछि उत्कृष्ट ६ टोलीले सुपर सिक्स चरण खेल्नेछन् र अन्तिममा फाइनल खेलमार्फत शीर्ष ४ टोली छनोट गरिनेछन् । प्रतियोगिताको पूर्ण तालिका चाँडै सार्वजनिक गरिने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले जनाएको छ ।

महिला टी-२० विश्वकप २०२६ को कार्यक्रम भने पहिले नै सार्वजनिक भइसकेको छ । सो प्रतियोगिता २४ दिनसम्म ७ मैदानमा खेलिनेछ, जसमा ओल्ड ट्राफोर्ड, हेडिङ्ले, ह्याम्पशायर बाउल र ब्रिस्टल काउन्टी ग्राउन्डजस्ता स्टेडियम समावेश छन् । फाइनल खेल विश्वप्रसिद्ध लर्ड्स क्रिकेट मैदानमा हुनेछ ।