राष्ट्र बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि आन्दोलन घोषणा गर्ने बताएका छन् । ७ दल र माओवादी केन्द्रबीच दिल्लीमा १२ बुँदे सहमति भएको मंसिर ७ गतेको दिनबाट व्यवस्था परिवर्तनको आन्दोलन शुरू गर्न लागेको उनले बताए ।
बुधवार राष्ट्रिय मानव अधिकार आयोगसँगको छलफलपछि प्रसाईंले मंसिर ७ देखि आन्दोलन घोषणा गर्ने बताएका हुन् । उनले आफूहरूको आन्दोलन मेचीदेखि महाकालीसम्म एकैपटक शुरू हुने उनले बताए । ‘मानव अधिकार आयोगलाई आन्दोलनबारे जानकारी गरायौं । सिंहदरबारमा आगजनी गर्ने र घर जलाउने हाम्रो आन्दोलनको उद्देश्य हुँदैन,’ उनले भने, ‘दिल्लीमा १२ बुँदे सहमति भएको दिनमै व्यवस्था परिवर्तनको आन्दोलन शुरू हुन्छ । दिल्लीको सम्झौताकै कारणले राजसंस्था गयो, हिन्दु अधिराज्य गयो । अब पुनर्स्थापना गछौं ।’
प्रसार्ईंले आफूहरूको आन्दोलनको बेला पसल-व्यवसाय बन्द गरेर समर्थन गर्न आग्रह गरे । उनले देश शून्य अवस्थामा रहेको भन्दै व्यवस्था परिवर्तनको आन्दोलनमा कर्मचारी र प्रहरीको समेत समर्थनको अपेक्षा गरिएको बताए । बौद्ध र किरात सहितको सनातन हिन्दु राष्ट्र स्थापनाका लागि आन्दोलन गर्न लागिएको प्रसाईंले बताएका छन् ।
उनले मंसिर ७ गतेदेखि व्यवस्था परिवर्तन नभई अवस्था परिवर्तन नहुने भन्दै सम्पूर्ण मानवअधिकारवादी, पत्रकार, र देश तथा विदेशमा रहेका सबै नागरिकलाई साथ दिन आह्वान गरे । उनले निजामती कर्मचारी र प्रहरीलाई पनि मंसिर ७ गतेदेखि बिदा बस्न अनुरोध गरेका छन् ।