उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक सकिएको छ । बुधबार नेपाली कांग्रेस र नेकपा एमाले सम्मिलित सयन्त्रको बैठक बालुवाटारमा बसेको थियो ।
बैठकपछि गृहमन्त्री रमेश लेखकले सत्तारुढ दुई प्रमुख दल कांग्रेस र एमालेबीच सरकार सञ्चालनमा कुनै समस्या नरहेको दाबी गरेका छन् । उनले भने, ‘हाम्राबीचमा कुनै समस्या छैन । बाहिर दुई दलका बीचमा केही समस्या भयो कि भन्ने कुरा छ । त्यस्तो खालको कुनै समस्या छैन ।’
शिक्षा विधेक चाँडोभन्दा चाँडो टुंग्याउने कुरामा सरकारले सहजीकरण गर्ने उनले बताए । उनले भने, ‘आउने अधिवेशनमा टुंग्याउन सकिन्छ, टुंगिन्छ भन्ने प्रतिबद्धता गरेका छौं ।’
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, विष्णु रिमाललगायत नेता सहभागी थिए ।
पछिल्लो केही दिनयता कांग्रेसको संस्थापनइतरमा रहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइरालाले लगातार सरकारका कामप्रति असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।
आजको बैठकमा असन्तुष्ट समूहका कोही पनि नेता सहभागी थिएनन् । महामन्त्री थापा राजनीतिक संयन्त्रका सदस्य हुन् । उनी पनि बैठकमा सहभागी भएनन् ।