४ जिल्लाका ५ उम्मेदवारविरुद्ध उजुरी

Yangle News
Yangle News
२०८२ माघ ७ गते
४ जिल्लाका ५ उम्मेदवारविरुद्ध उजुरी

आगामी फागुनमा हुने निर्वाचनका लागि मनोनयन दर्ता गरेका ३ हजार ४८७ उम्मेदवारमध्ये चार जिल्लाका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको छ ।

सुनसरी जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का एक, रौतहट जिल्ला क्षेत्र नम्बर १ का एक, भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का दुई र कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का एक उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित राजिव खत्री, जानुका पाठक, लालविक्रम थापा र रेशम चौधरीविरुद्ध उजुरी परेको हो ।

आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएका उम्मेदवारविरुद्ध उजुरी दिने अवधि निर्धारण गरिएको थियो । सो अवधिमा देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पाँच वटा उजुरी दर्ता भएको हो । सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतसमक्ष प्रतिनिधिसभा निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १६ बमोजिम उजुरी दर्ता भएको हो ।

उजुरीमा निर्वाचन अधिकृतले निर्देशिकाको अनुसूची १७ बमोजिमको दर्ता किताबमा दर्ता गरी अनुसूची १८ बमोजिमको भरपाई सम्बन्धित उजुरीकर्तालाई दिएको जनाइएको छ । निर्वाचन कार्यक्रमबमोजिम निर्वाचन अधिकृतले उम्मेदवारको विरोधमा उजुरी गर्ने म्याद समाप्त भएपछि म्यादभित्र दर्ता हुन आएका उजुरीको विवरण अनुसूची १९ बमोजिम तयार गरी कार्यालयमा प्रकाशनसमेत गरेका छन् ।

यसरी प्रकाशन गरिने सूचनामा जसकाविरुद्ध उजुरी परेको हो, सो पक्षले सूचनामा तोकिएको अवधिमा प्रमाणसहित उपस्थित हुनुपर्नेछ । यसरी सूचना प्रकाशन भएपछि सम्बन्धित उम्मेदवारले सो को सूचना पाएको मानिने व्यवस्था छ । आज दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरिने प्रवक्ता भट्टराईले बताए । उनका अनुसार माघ ८ गते बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।

माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ ।