बाढीपहिरोबाट देशभरका ७ राजमार्ग पूर्ण अवरुद्ध

Yangle News
Yangle News
२०८२ साउन १५ गते
बाढीपहिरोबाट देशभरका ७ राजमार्ग पूर्ण अवरुद्ध

मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका सात राजमार्ग पूर्णरूपमा अवरोध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण देशभरका सात मुख्य राजमार्ग अवरोध भएका हुन् ।

अवरोध हुनेमा संखुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग,रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल-चीन नाका जोड्ने पुल, रसुवाकै पासाङल्हामु राजमार्ग, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् ।

बाग्लुङको बाग्लुङ नगरपालिकास्थित कालिगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकास्थित घोराही रुकुम सहिद राजमार्ग र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक पूर्णरूपमा अवरोध भएका प्रहरीले जनाएको छ ।

यसैगरी, काठमाडौंको टोखाबाट नुवाकोट जाने सडकखण्ड, नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकास्थित कालिगण्डकी करिडोर, मुस्ताङको थासाङ गाउँपालिकास्थित बेनी-जोमसोम सडक, तनहुँको बन्दीपुर गाउँपालिकास्थित पृथ्वी राजमार्ग, रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।