ललितपुरमा श्रमाधान मेला सुरु भएको छ । सरकारले बेरोजगार रहेका नागरिक र रोजगारदाताबीच पूलको काम गर्ने हेतुले सञ्चालन गरेको श्रमाधान मेला ६ वटै प्रदेशमा सम्पन्नपछि मंगलबार बागमती प्रदेशअन्तर्गत ललितपुरमा श्रमाधान मेला सुरु भएको हो । दुई दिवसीय मेलाले श्रमदातालाई आवश्यक जनशक्ति उपलव्ध हुने र बेरोजगार युवाले मुलुकभित्रै रोजगार पाउने अपेक्षा गरिएको छ ।
स्वदेशमै रोजगारी गर्न चाहने युवालाई आर्थिक र सामाजिक रुपमा स्थापित गराउन सहयोग गर्ने उद्देश्यले आजदेखि ललितपुरमा ‘श्रमाधान रोजगार मेला’ सुरु भएको छ । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले संयुक्त रुपमा उद्घाटन गर्नुभएको श्रमाधान मेला पाटन बहुमुखी क्याम्पस परिशरमा बुधबार सम्म चल्नेछ । कार्यक्रमको उद्घाटन गर्दै विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले श्रमाधान मेलाले बेरोजगार युवाका लागि मुलुकमै रोजगार दिने अवशर दिलाउने बताउनुभयो ।
मेलाले रोजगारी मात्रै हैन, रोजगारीका लागि ज्ञान, सीप आर्जन गरेका युवालाई सीपको सदुपयोग कसरी ल्याउने, सीपमा निखारता कसरी ल्याउने भन्नेबारेमा पनि जारकारी दिने छ ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनु भयो । सरकारले सुरु गरेको श्रमाधान मेला जस्तै ललितपुर महानगरपालिकाले पनि चालु आर्थिक वर्ष देखिनै सीपमुलक तालिम सहित रोजगारकालागि बजेट छुट्याउँदै आएको तर उक्त बजेट खर्च पर्याप्त रुपमा खर्च हुन नसकेको र आगामी आर्थिक वर्षमा महानगर रोजगारमुलक कार्यक्रम सञ्चालनका लागि तयारी गरेको बताउनुभयो ।
मेलाको संयोजन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, होटल एशोसियसन नेपाल, नेपाल तालिम तथा रोजगार व्यवसायी, नेपाल घरेलु तथा साना उद्योग महासंघ लगायतले गरेको हो । बुधबारसम्म सञ्चालन हुने मेलामा ८० वटा निजी तथा सरकारी क्षेत्रका रोजगार कक्ष रहेका छन् । जेठ १७ गते कोशी प्रदेशबाट सुरु भएको श्रमाधान मेला ६ वटै प्रदेशमा सम्पन्न गरी मंगलबार बागमती प्रदेश अन्तर्गत ललितपुरमा कार्यक्रमको आयोजना गरिएको हो । ६ वटा प्रदेशमा सम्पन्न श्रमाधान मेलामा कोशी प्रदेशमा दुई दिन लागेको ‘श्रमाधान रोजगार मेलामा ५ हजार जनाले रोजगारीका लागि आबेदन दिएका छन् । मधेश प्रदेशमा ६ हजार जनाले, गण्डकी प्रदेशमा ५ हजार जना, लुम्बिनी प्रदेशमा आठ हजार, कर्णाली प्रदेशमा तीन हजार पाँच सय र सुदुरपश्चिम प्रदेशमा ४ हजार एकसय ६६ जनाले रोजगारीको लागि आवेदन दिएका छन् । श्रमाधान मेलाले रोजगारदाता र रोजगारी प्राप्त गर्न चाहनेका लागि पूलको काम गरिरहेको बताइँदै आएको छ ।।