डिगोसँगको साझेदारीमा जिओहटस्टार नेपालमा, प्रतिमहिना २४९ रुपैयाँमै मनोरञ्जन

Yangle News
Yangle News
२०८३ कार्तिक १ गते
डिगोसँगको साझेदारीमा जिओहटस्टार नेपालमा, प्रतिमहिना २४९ रुपैयाँमै मनोरञ्जन

काठमाडौं । अन्तर्राष्ट्रिय स्ट्रिमिङ प्लेटफर्म जिओहटस्टार (JioHotstar) ले नेपाली ओटीटी प्लेटफर्म डिगो (DGO) सँगको साझेदारीमा नेपालमा आफ्नो सेवा विस्तार गरेको छ। यससँगै नेपाली दर्शकले भारतीय ब्लकबस्टर चलचित्र, लोकप्रिय टेलिभिजन कार्यक्रम, ओरिजिनल सिरिज र प्रत्यक्ष अन्तर्राष्ट्रिय खेलकुद एउटै प्लेटफर्मबाट हेर्न सक्ने भएका छन्।

डिगोमार्फत उपलब्ध जिओहटस्टारको सामग्रीमा ‘भेडिया’, ‘१२थ फेल’, ‘केसरी च्याप्टर २’, ‘सुपर ३०’ र ‘वेलकम टु द जंगल’ जस्ता चलचित्र समावेश छन्। त्यस्तै, ‘हुंकार’, ‘प्रितम एन्ड पेड्रो’, ‘स्पेसियल अप्स’ र ‘चिरैया’ लगायतका ओरिजिनल सिरिज तथा ‘बिग बोस’, ‘कफी विथ करण’ र ‘इन्डिया का टप १ पर्सेन्ट’ जस्ता लोकप्रिय मनोरञ्जनात्मक कार्यक्रम पनि दर्शकले हेर्न पाउनेछन्।

जिओहटस्टारका सामग्री डिगोको समर्पित प्लेटफर्ममार्फत उपलब्ध हुनेछन्। दर्शकले मोबाइल र प्लस प्लानमार्फत सेवा लिन सक्नेछन्। विशेष लञ्च मूल्यअनुसार मोबाइल प्लान एक महिनाका लागि २४९ रुपैयाँ, तीन महिनाका लागि ६९९ रुपैयाँ र एक वर्षका लागि २ हजार ४९९ रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै, प्लस प्लान एक महिनाका लागि ३९९ रुपैयाँ, तीन महिनाका लागि ८९९ रुपैयाँ र एक वर्षका लागि २ हजार ६९९ रुपैयाँमा उपलब्ध हुनेछ।

जिओहटस्टारको सामग्री थपिएसँगै डिगोको नेपाली चलचित्र तथा मनोरञ्जन सामग्रीको संग्रह पनि विस्तार भएको कम्पनीले जनाएको छ। डिगोले प्रत्येक हप्ता नयाँ नेपाली चलचित्र थप्ने योजना बनाएको छ। यसका साथै ग्राहकले ला लिगा (LaLiga), मोटोजीपी (MotoGP) र काराबाओ कप (Carabao Cup) लगायतका प्रत्यक्ष अन्तर्राष्ट्रिय खेलकुद पनि हेर्न सक्नेछन्। यी सामग्री एउटै डिगो सब्स्क्रिप्सनअन्तर्गत उपलब्ध हुने जनाइएको छ।

जिओस्टारका अन्तर्राष्ट्रिय व्यापार प्रमुख अमित मल्होत्राले नेपालमा जिओहटस्टारको प्रवेशले भारतीय चलचित्र, टेलिभिजन कार्यक्रम र मनोरञ्जन सामग्रीप्रति आकर्षण राख्ने नेपाली दर्शकलाई थप विकल्प उपलब्ध गराउने बताए। डिगोसँगको सहकार्यले स्थानीय प्लेटफर्मको सहजतामार्फत जिओहटस्टारका सामग्री दर्शकमाझ पुर्‍याउन सहयोग गर्ने उनको भनाइ छ।

त्यस्तै, डिगोका प्रमुख कार्यकारी अधिकृत रोशन निरालाले यस साझेदारीलाई डिगो र नेपालको मनोरञ्जन क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे। जिओहटस्टारका लोकप्रिय चलचित्र तथा कार्यक्रम, नयाँ नेपाली चलचित्र र प्रत्यक्ष अन्तर्राष्ट्रिय खेलकुदलाई एउटै प्लेटफर्ममा उपलब्ध गराएर नेपाली दर्शकलाई थप मनोरञ्जन विकल्प प्रदान गर्ने लक्ष्य रहेको उनले बताए।

दर्शकले डिगोको आधिकारिक वेबसाइट www.watchdgo.com वा iOS, Android, Android TV तथा Smart TV मा उपलब्ध डिगो एपमार्फत सेवा लिन सक्नेछन्।

जिओहटस्टारले नेपाल प्रवेशसँगै आफ्नो अन्तर्राष्ट्रिय बजार विस्तारलाई निरन्तरता दिएको छ। यसअघि कम्पनीले बेलायत, क्यानडा, सिंगापुर तथा मध्यपूर्व र उत्तर अफ्रिकाका बजारमा आफ्नो उपस्थिति विस्तार गरेको थियो।

डिगो नेपाल सरकारबाट इजाजतपत्र प्राप्त सब्स्क्रिप्सनमा आधारित ओटीटी स्ट्रिमिङ प्लेटफर्म हो। यसले नेपाली चलचित्र, वेब सिरिज, प्रत्यक्ष खेलकुद, टेलिभिजन तथा मनोरञ्जनात्मक कार्यक्रम उपलब्ध गराउँदै आएको छ।