‘श्रमिकहरूको सशक्तीकरण नै राष्ट्रको सशक्तीकरण हो’

Yangle News
Yangle News
२०८२ साउन २ गते
‘श्रमिकहरूको सशक्तीकरण नै राष्ट्रको सशक्तीकरण हो’

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘श्रमिकको समृद्धिबिना राष्ट्रको समृद्धि असम्भव रहेको उल्लेख गरेका छन् ।

सरकारले श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि गर्दै १७ हजार ३ सय रुपैयाँबाट १९ हजार ५०० रुपैयाँ पुर्याउने निर्णय गरेको छ ।

यही निर्णयका विषयमा सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको सम्मान र भविष्यलाई सुरक्षित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले भने,’श्रमिकलाई एक मुट्ठी भरोसा महत्त्वपूर्ण हुनेछ ।’

प्रधानमन्त्री ओलीका अनुसार, श्रमिकहरूको मेहनत र योगदानले नै राष्ट्रको समृद्धि र विकासलाई सम्भव बनाउँछ । उनले श्रमिकको समृद्धि बिना राष्ट्रको समृद्धि असम्भव भएको टिप्पणी गर्दै उनले लेखेका छन्,’हामी सबैको कडा मेहनतको मूल्यांकन गर्नुपर्छ र यसका लागि सरकारले सधैं काम गर्नेछ ।’

यस निर्णयसँगै, सरकारद्वारा लागू गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले श्रमिकहरूको भविष्यलाई थप सुरक्षित बनाउने दिशामा महत्वपूर्ण कदम उठाइएको छ । अहिलेसम्म करिब २१ लाख श्रमिक यस कार्यक्रममा आबद्ध भइसकेका छन् ।

प्रधानमन्त्री ओलीले श्रमिकको जीवनस्तर सुधार गर्न र उनीहरूको योगदानको उचित मूल्यांकन गर्न यो निर्णय महत्त्वपूर्ण हुने बताएका छन् । ‘हाम्रो सरकारले श्रमिकको भविष्यलाई सुरक्षित बनाउने दृष्टिकोणबाट यो निर्णय लिएको हो । श्रमिकहरूको सशक्तीकरण नै राष्ट्रको सशक्तीकरण हो,’ ओलीले थप लेखेका छन् ।