नवनियुक्त ४ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

Yangle News
Yangle News
२०८२ मंसिर २६ गते
नवनियुक्त ४ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारले चौथोपटक मन्त्रिपरिषद् विस्तार गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित समारोहमा चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । कुमार इङनाम, माधव चौलागाई, राजेन्द्र सिंह भण्डारी र श्रद्धा श्रेष्ठले मन्त्री पदको शपथ लिएका हुन् । इङनामलाई भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण, चौलागाईलाई वन तथा वातावरण, भण्डारीलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा र श्रेष्ठलाई महिला तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

भण्डारी नेपाल प्रहरीका पूर्वएआईजी हुन् । इङनाम काठमाडौं स्कुल अफ लका प्रोफेसर तथा श्रद्धा पर्यटन बोर्डको कर्मचारी हुन् । वनमन्त्री चौलागाई पेशाले जनस्वास्थ्यविद् हुन् । नयाँ मन्त्री थपिएसँगै मन्त्रिपरिषद १४ सदस्यीय भएको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।

जेनजी आन्दोलनको बलमा भदौ २७ गते गठित सरकारले ३ महिनापछि मन्त्रिपरिषद् विस्तार गरेको हो । फागुन २१ गते चुनाव गर्ने जिम्मेवारी पाएको सरकारको कार्यकाल अब ३ महिना बाँकी छ ।