उज्वल थापा : उज्यालो आन्दोलनका अभियन्ता
मत-मतान्तर
नेपाली राजनीतिमा आशा जगाएर भरोशा यात्रामा हिँडीरहेका उज्वल थापाबारे जीवन संगीनी एरीका अधिकारीले नितान्त नौला संस्मरण, सन्दर्भ र संकल्प सार्वजनिक गर्नु बाहेक संभवत उनका बहुकोणीय योगदानबारे यत्र तत्र सर्वत्र चर्चा परिचर्चा भइसकेको छ ।
यो स्मृति आलेखमा एक ठाँउ मात्रै उज्वल थापाको अगाडी स्वर्गीय लाग्नेछ त्यो पनि ब्याख्यामा सरलताका लागि । त्यस्तो ब्यक्ति जसको नेतृत्व, कर्म र योगदानको समिश्रण पछि उसले भौतिक शरीर छोडेर गए पनि उसको अगाडी स्वर्गीय शब्द लाग्दैन जस्तै युवा कवि मोतीराम भट्ट, समाज सुधारक फाल्गुनान्द, भूमी अधिकारकर्मी वलदेव राम, वीर बलभद्र, संगीतकार गोपाल योन्जन। महाकवि देवकोटा भने पछि अब स्वर्गीय महाकवि लक्ष्मीप्रसाद देवकोटा भनिरहनु परोइन। उज्वल थापालाई अब उपरान्त स्वर्गीय उज्वल थापा भनिरहनु पर्दैन, उनी अमर छन, रहने छन् बनाउने छौं।
झलकमानको एउटा गीतको अन्तरा छ- ‘यो गीत मैले गाएको होइन सम्झाई दिएको।, मलाई यो आलेख १३ औं दिनको पुण्य तिथीमै छाप्नु छ, उनको जिद्धीपनालाई आत्मसातका साथ सम्मानार्थ। भोग्नेहरु धेरैले धेरै पटक लेखे यती विशिष्ट योगदान दिएका उनी कहिलेकाँही अली असामाजिक जस्ता लाग्ने, अलीक घामड जस्ता अली जिद्धी, अलीक ठिस जस्ता । मेरो परिचय उनीसँग अली ठिस शैलीमै भएको थियो संभवत २०६७ /६८ सालमा चाँजो मिलाएका थिए सहकर्मी शौरभ ढकालले, त्यतीबेला ढकाल र म कान्तिपुर टेलिभिजनमा थियौँ। सहकर्मी शौरभ ढकाल नयाँ पुस्ता, नयाँ प्रविधि, नयाँ सोच र नयाँ -नयाँ इन्नोभेसनलाई प्रवर्धन गर्न इन्नोभेटिभ आईडिया मास्टरको सरसंगतमा हुन्थे । महावीर पुनदेखि अनील चित्रकार, प्रशान्त सिंह देखि आपा शेर्पा सम्मलाई उनैले मलाई भेटघाटका लागि उद्वेलन गराएका हुन। ‘उज्वल थापालाई भेटौं न दाइ उसले नयाँ नयाँ इन्नोभेटिभ अभियान गरिररहेको छ।, उज्वल थापासंग सोही मेसोमा भेट भयो सन्दर्भ थियो ‘नेपाल युनाइट्स’को ब्यानर : विभिन्न रचनात्मक गतिविधि गरिरहेका उनकै शब्दमा ‘मान्छेको दिमाग घोच्ने काम’ कै सेरोफेरोमा हाम्रो पहिलो भेट भएको थियो। ‘दिमाग घोच्ने काम’ अन्तर्गत थापाथली पुलमा प्रदर्शन थियो, प्रदर्शन अगावै हाम्रो भेटको चाँजो मिलाएका ढकालले मलाई अली फुलबुट्टा भरेर थापालाई परिचय गराएका थिए- ‘प्रकाश दाई पनि स्वदेशमै केही गरौँ भन्ने हुटहुटीवाला हुनुहुन्छ, पत्रकार मात्रै होइन तपाँइको गतिविधीसंग फिटेड, सर संगत र सहकार्य गर्न लायक हुनुहुन्छ।, ढकालको सहज प्रस्तुतीमा थापाजी स्माईली त हुनु भयो पूर्व निर्धारित भेट अनुसार मैले खोजेकै भावमा उत्साही भए जस्तो लागेन, ‘ठिकै छ त भेटघाट गर्दै गरौं न त’ बाहेक खाशै वाक्य नफुटे पछि मलाई पनि लाग्यो कस्तो ठिस मान्छे। केही बेरमै प्रदर्शन शुरु भयो थापाथली पुलको पश्चिम बटुवा कर्नरमा। बरु अनील चित्रकार प्रशान्त सिंहहरुसंगै अझ बढी छलफल भयो। पछि उनीसंग थप बाक्लो भेटघाट, सरसंगत, वातचित , खाश दिलचस्पीका साथ अघि बढेन।
महान लक्ष, साझा छाना र सहयात्रा:
समयक्रमसंगै नेपालमा एउटा भरपर्दो वैकल्पिक राजनीतिक शक्ति आवश्यक छ त्यो क्षमता भएका, इमानदार र देशका लागि केही गरौं भन्ने उत्कट चाहना बोकेका, सुझबुझका धनी, उमेरमा युवा देखि सोचका युवा सम्मको सामुहिक पहलमा पार्टी बनाऔँ, कुशासन ढाल्न सकिन्छ भन्ने अठोटका साथ साझा पार्टी गठनको प्रारम्भिक चरणबाटै जोडिने सुअवसर पाँए। सुसंस्कृत राजनीतिको वकालतसंगै इमानदार, क्षमतावान, सक्षम र निष्ठावान मानिसको राजनीतिमा प्रवेशले बिकृत बनाईएको राजनीतिको परिभाषा बदल्ने धृष्टता सम्भव छ भन्ने कुरा विश्वासमा रुपान्तरण हुनथाल्यो।साझा आह्वानलाई आत्मसात देखि स्वतस्फुर्त सम्म स्वदेश देखि विदेश सम्म साझा सद्भाव एकाई, समुह, समितिहरु बन्न थाले, एकान्तकुना सम्पर्क अफिसको रौनक फेरियो।
साझा पार्टीले काठमाडौँ, ललितपुर र इटहरीको स्थानीय चुनावमा पार्टी दर्तानै नगरी सन्देशमुलक सहभागिता जनायो । चुनावमा पार्टी र उमेदवारले स्वदेश तथा विदेशवाट अभूतपूर्व शुभेक्षा,साथ र समर्थन बटुल्दै गए, वैकल्पिक शक्तिको आवश्यकता विस्तारै अनुमोदित हुन थाल्यो।
रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीको नीति, सोच, शैली र त्यसलाई बोक्ने खाश नेपाली मुहारहरुले छोटो समयमै साझा पार्टी लोकप्रिय र उदाउँदो वैकल्पिक शक्तिको रुपमा फुल्न, फैलन र फरफराउन थाल्यो। अभियान हुँदै दलकै रुपमा राजनीतिमा नव युवाको ढुकढुकीको रुपमा फस्टाउँदो विवेकशील नेपाली दल र राजनीतिमा चौमुखी आशाको संचार जगाईरहेको साझा पार्टी एक भएर मात्रै जब्बर लुटतन्त्र ढाल्न सकिन्छ भन्ने चौतर्फी स्वर गुन्जियो । कुनै सैद्धान्तिक, नीतिगत र शैलीगत फरकपना नरहेका दुइ दल छुट्टा छुट्टै किन? असल, इमानदार र दक्षता भएका मानिसहरु एक ठाँउमा आएर मात्रै बिकृत र फोहोर बनाईएको राजनीति बदल्न सकिन्छ, मुलुकलाई हाम्रै जीवनकालमा संबृद्ध बनाउन सकिन्छ भन्ने सुभेक्षा, जन दबाब त्यतिबेला जबरजस्त बन्दै गयो। काठमाडौं महानगरमा दुइ दलका छुट्टा छुट्टै उमेदवार रन्दजु दर्शना र किशोर थापाको लोभ लाग्दो जनमत संयुक्त भएको भए जीत सुनिश्चित हुन्थ्यो, नमूना काम गरेर काठमाडौंबाटै देशब्यापी सन्देश फैलाउन सकिन्थ्यो भन्ने विवेकी सोच र साझा धारणालाई आत्मसात गरियो। त्यसैको जगमा दुई पार्टी वीच अलि छिटो एकीकरण भयो। परिणाम देशब्यापी सकारात्मक तरंग छायो, अब यो मुलुकमा केही हुन्छ भन्ने आशा संचार हुन थाल्यो, परम्परागत राजनीतिक दलको कुख्यातीले वाक्क भएकाहरुको भरोशाको केन्द्र बन्न विवेकशील साझा सफल भयो। तीनै अभियन्ता उज्वल थापासंग सहयात्रीको रुपमा काम गर्न पाईयो। एउटै पार्टीमा उनीसंगको पुन: भेटमा थापाको संक्षिप्त प्रतिकृया थियो ‘खुशीको कुरा तपाँई हाम्रो देश बनाउने हुटहुटीले एकै ठाँउमा ल्यायो अब काम गर्ने हो, काम।,
माननीय, सम्माननीय र आदरणीय शीर्षकको त्यो लेख:
यस वीचमा प्रदेश नंबर ३ वागमती प्रदेश बनिसकेको थियो, वागमतीमा पहिले देखिनै पानी त बगिनै रहेको थियो, ढल बगेको कुरा पनि सत्यनै थियो।उज्वल थापा मेरो पूर्व संयोजक बनिसकेका थिए। समय, परिस्थिति, सीमा र सन्दर्भले उनीसंग बाक्लो बार्ता, बातचीत भइरहेको थिएन। गत वर्ष असोजमा कोरोना महामारीकै वीच डा. गोविन्द केसीले आफ्ना पूर्ववत् माग र कतिपय सम्झौता समेत जोडेर सत्याग्रह गरिरहेका थिए। अन्पूर्ण पोस्टमा ‘माननीय,सम्माननीय र आदरणीय’ शीर्षकमा मेरो एउटा लेख प्रकाशन भएको थियो सोही लेखको सन्दर्भमा उनको र मेरो फोन संवाद हुन पाएको थियो। हामीले केहीबेर सोही प्रसंगमा बातचीत गर्यौं।
लेखको मर्म थियो- ‘राजनीतिको गर्भवाट जन्माईएका ‘दिपक मनाङे्‘ हरु जस्ता दर्जनौ पात्रहरुले नेपालको संसदीय इतिहासमा आफ्नो नाम दर्ज गरिसकेका छन । उनीहरुको अनुकरणले नेताहरुको अनुकम्पाले सयौं त्यस्ता राजनीतिक पात्र र प्रवृत्तिहरु साम, दाम, हराम सबै नीति र संयन्त्रको जोहो गरेर आगामी निर्वाचन कुरेर बसिरहेका छन, मान्नै पर्ने माननीय लाईनमा दर्ज हुनका लागि ।,
विडम्बना तिनै मनाङे् अलि अघि मन्त्री बने, अहिले कसलाई मुख्यमन्त्री बनाउने भनेर निर्णायक रुपमा आफूलाई प्रस्तुत गरिरहेका छन, न्यायालयको उच्च गरीमा राखेर न्याय दिने हैँसियतका गोपाल पराजुलीहरुलाई सम्माननीय भन्नै पर्छ, ३ वटा फरक फरक उमेर भएको नागरिकताधारी भए पनि ।
बिडम्बना उनी गलत सावित भए पनि निवासमा बिहानै सलामी ठोक्ने प्रहरीको ब्यवस्था छँदैछ सम्माननीयजीलाई। आदरणीय उपमाको खडेरी लागेकै हो त?
राष्ट्रीय जीवनमा गोविन्द केसी जस्तै जनमनमा सम्मानले शिर निहुरिने हाम्रा गाँउमा, टोलटोलमा धेरै अग्रजहरु थिए, अहिले पनि छन जसलाई देख्नेबित्तिकै त्वचामा चमक आँउछ, सम्मानले शीर निहुँरिन्छ, नाम सुन्ने बित्तिकै कानले शान्त महसुस गर्छ जसको फोटो देख्ने बित्तिकै आँखाले आत्मासंग अंकमाल गर्छ।आदरणीय हृदयवाटै पुकारिने शब्द हो जसलाई किन्न पाईन्न, माननीय, महामहिम पद जस्तो ।
हो उनै आदरणीय गोविन्द केसीको स्वास्थ्य क्षेत्र सुधारको सुरुवाती देखिनै एउटा निश्पृयताका साथ अविश्रान्त सहयात्री बनेका थिए उज्वल थापा । सुखद संयोग पूर्व साँसद, पूर्व मन्त्री, पूर्व राजदुत आदि राजकीय पदवी बिनै उनी आदरणीय उज्वल थापा बनेर विदा भए। शक्तिको जबरजस्त अचाक्ली भोक जगाईएको नेपाली समाजले मिहीन तरिकाले थापाको मुल्याँकन गरिरहेको आभाष पाउन उनको गम्भीर उपचारको सन्दर्भमा भएको शुभेक्षा, सहयोग र प्रार्थना अनी निधनप्रतिको श्रद्धान्जली, समवेदना,प्रतिकृया, लेख र लेखनी लहरोले झल्काईरहेको छ।
त्यसो भए अब के त?
नेपालको नयाँ धारको राजनीतिका प्रखर अभियन्ता थापा स्वभावैले रचनात्मकता, परीक्षण र प्रवर्धनमा विश्वास सहित अटल अभ्यासमा होमीएका एउटा दशक नायक हुन। उनको असामयिक अवसानले विवेकशील साझा राजनीतिमा मात्रै होइन संवृद्ध नेपाल निर्माणको महा अभियानमै क्षति पुगेको कुरा अब चर्चा गरिरहने विषय रहेन, दस्तावेजिकरण भइसक्यो। समस्याको पोको खोलेर छोडिदिने युवाहरलाई अब के गर्ने ? अन्तरकृया गरेर रचनात्मक अभ्यास शुरु गर्दै स्थापना गरिएको विवेकशील अभियानका गुरु उज्वल थापाले दशक सम्म मान्छेको दिमाग घोच्दै आए।अब भौतिक रुपले त उनले हाम्रो दिमाग नघोच्लान तर उनको अवसान पछि कहिँकतैबाट उनै उज्वल थापाले हाम्रो पुस्तालाई प्रश्न गरिरहेका छन, एउटा नेताको अवसान भयो एजेण्डा त ज्युँका त्युँ छन् गर्न त अझ धेरै छ, अब के गर्ने त?
देवेन्द्रराज पाण्डे नेतृत्वको लोक दल देखि कुवेर शर्मा नेतृत्वको हरियाली पार्टी सम्मले वैकल्पिक पार्टीको बहस, पैरवी, अभियान र खबरदारी थाले पनि पार्टी संस्थागत हुनै नपाई बन्द भएको दुखद इतिहास छ। नयाँ युगमा नयाँ राजनीति भनिए पनि अत्यन्त जब्बर रुपमा जकडिएको परम्परागत नेपाली राजनीतिलाई सफाई गर्दै मुलुककै मुहार फेर्न विवेकशील साझा पार्टीको काँधमा बहुतै गहन जिम्मेवारी आईपुगेको छ। समय, काल,परिस्थितिमा अचाक्ली भावुक हुने नेपाली समाजको धरातलीय यथार्थ ‘मशान बैराग्य’ चिर्न पनि विवेकशील साझा पार्टीलेनै अधिक मेहनत गर्नु पर्ने छ भने होस्टेमा हैँसे गर्न शुभेच्छुक, सहयोगी, सदासयी, कार्यकर्ता देखि अभियन्ता सम्मको निकै फराकिलो सहयोग अत्यावश्यक छ।
अभियानले मात्रै ठुलो रुपान्तरण गर्न सकिन्न बृहत्तर राजनीतिबाट मात्रै नेपाल आमाको मुहार फेर्ने सकिन्छ भन्ने हाम्रो विश्वास ‘हटो नही डटो आगे बढो आगे’ शैलीमा अघि बढीरहेको छ।तपाँईलाई लाग्दो हो ‘एकीकृत पार्टीको सामुहिक शक्तिलाई मलजल गर्न नपाई विदा हुन पर्यो र भन्नुहुँदो हो के ओहो त तपाँईहरुलाई शुभेक्षा छ, तपाँहरुसंग विश्वास छ, तपाँईहरु सक्नुहुन्छ। अब के त ? भनेर फेरि सोध्नु होला, हामी भगिरथ प्रयासमा छौँ सदा रहनेछौँ, त्यो क्षतीको परिपूरण गर्न हजारौँ उज्वल अभियन्ताहरु समतामूलक संवृद्धिको मोर्चामा लामबद्ध छन, अझ बढेर जाने निश्चित छ।
सपना देख्ने, सपनालाई बिपना वनाउन आफै अघि सर्ने, एकजनाले मात्र मुलुकको विकास गर्न सकिन्न भन्दै सयौँ योद्धाहरुलाई प्रवर्धन गर्ने एकजना सशक्त राजनीतिक/सामाजिक अभियन्ताको असामयिक निधनलाई सदा संस्मरणीय वनाउन कहाँ सजिलो छ र ? फेरि भन्नु होला अब के त? ती सपना, यी सम्भावना र विशिष्ट धरातलीय यथार्थलाई चिर्दै जनताको मुहारमा ठोस परिवर्तन ल्याउन कुरा सेन्टीमिटरमा काम किलो मिलोमिटरको रफ्तारमा गर्नुनै छ, हामी गर्नेनैछौँ जहाँ हुनुहुन्छ दिमागचैँ घोचीरहनुस है?
अल विदा प्रिय उज्वलजी।