एयरबसले आफ्ना हजारौं विमानमा तत्काल परिमार्जनको अनुरोध गरेपछि उडानहरू अवरुद्ध हुन सक्ने चेतावनी दिएको छ ।
हजारौं एयरबस विमानलाई सफ्टवेयर अपडेट आवश्यक पर्दा उडान अवरोधको जोखिम छ । यसबाट झन्डै ६ हजार विमानहरू प्रभावित हुने अनुमान गरिएको छ ।
बेलायतको उड्डयन नियामकले केही अवरोध र उडानहरू रद्द हुने सम्भावना रहेको बताएको बीबीसीले जनाएको छ । त्यस्तै अमेरिकन एयरलाइन्स, डेल्टा एयरलाइन्स, एयर इन्डिया, विज एयर र एयर न्यूजील्याण्डले उडानहरू अवरुद्ध हुने चेतावनी दिएका छन् ।
विमान निर्माता कम्पनीले सूर्यबाट निस्कने तीव्र विकिरणले उडान नियन्त्रणका लागि महत्त्वपूर्ण डेटालाई नस्ट पार्न सक्ने पत्ता लगाएको बताएको छ । त्यसअनुसार एयरबसले तुरुन्तै विमान फिर्ता बोलाएपछि सेवामा सम्भावित अवरोधको सम्भावनाबारे विश्वभरका धेरै एयरलाइन्सबाट रिपोर्ट गरिएको छ ।
एयर इन्डियाले एयरबसको निर्देशनले निर्धारित सञ्चालनमा लामो समयसम्म परिवर्तन र ढिलाइ हुन सक्छ भनेको छ । एयर न्यूजील्याण्डले आजका धेरै उडानहरू अवरुद्ध हुने चेतावनी दिएको छ । इजीजेटले आफ्ना धेरै विमानमा सफ्टवेयर अपडेट पूरा गरिसकेको र आज पनि सामान्य रूपमा उडानहरू सञ्चालन गर्ने योजना बनाएको बताएको छ ।
गएको अक्टोबरमा मेक्सिकोबाट अमेरिका जाँदै गरेको जेटब्लू विमानले उचाइमा अचानक गिरावट’ अनुभव गरेपछि यो समस्या पत्ता लागेको थियो । यो घटना तीव्र सौर्य विकिरणका कारण भएको मानिन्छ । जसले विमान नियन्त्रण गर्न प्रयोग गरिने कम्प्युटरमा रहेको डाटालाई बिगारेको थियो ।
अहिले समस्या समाधानका लागि प्रयास भइरहेको छ । यो काम कति समय लाग्छ भन्ने कुरा प्रतिस्थापन हुने कम्प्युटरको उपलब्धतामा निर्भर गर्ने बताइएको छ ।