नेपालमा ‘फिफा फुटबल फर स्कुल्स’ बिहिबारदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार पत्रकार सम्मेलन गर्दै कार्यक्रमको औपचारिक सुरुआत त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट हुने जानकारी दियो ।
यो कार्यक्रमबाट विद्यालयको पाठ्यक्रमसँगै खेल समावेश गरी विद्यार्थीमा जीवनउपयोगी सीप विकास गर्नुका साथै देशमा ग्रासरुट फुटबलको विकासमा टेवा पुग्ने विश्वास लिइएको छ । फिफाले युनेस्कोसँगको सहकार्यमा विभिन्न देशमा सञ्चालन गर्दै आएको यो कार्यक्रम नेपालमा पहिलोपटक हुन लागेको हो ।
एन्फाले शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयसँगको सहकार्यमा यो कार्यक्रम अगाडि बढाउने छ । एन्फाले कार्यक्रमलाई ७७ वटै जिल्लाका १ हजार ७२ वटा विद्यालयमा सञ्चालन गर्ने लक्ष्य लिएको छ । कार्यक्रमका दौरान ३२ हजार ६४० वटा फुटबल वितरण गर्ने योजना रहेको एन्फाले जनाएको छ ।
पत्रकार सम्मेलनमा फिफा फुटबल फर स्कुल्स कार्यक्रमका म्यानेजर एन्टोनियो ब्युनानो सान्चेज, प्राविधिक सल्लाहकार अल्बर्टो जियाकोमिनी, एन्फाका महासचिव किरण राई र प्रवक्ता सुरेश शाहको उपस्थिति थियो ।