पोर्चुगलमा एक नेपाली युवक बेपत्ता

Yangle News
Yangle News
२०८२ कार्तिक २ गते
पोर्चुगलमा एक नेपाली युवक बेपत्ता

रोजगारीका सिलसिलामा पोर्चुगल पुगेका एक नेपाली युवा बेपत्ता भएका छन् । तनहुँ, भानु नगरपालिका-९, पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे बेपत्ता भएका हुन् ।

उनी गत साता सोमबारदेखि राजधानी लिस्बन नजिकैको सिन्ट्रा क्षेत्रबाट सम्पर्कविहीन भई बेपत्ता भएको पाण्डेका साथी विदुर तामाङले जानकारी दिए । गत आइतबार राति तामाङको घरमा आएका पाण्डे साथीको फोन आयो भनेर निस्किएका थिए । त्यसपछि पाण्डे सम्पर्कविहीन भएको तामाङले बताए ।

सँगै काम गर्ने साथीलाई आफ्ना लागि पनि खाना लगिदिन भनेका पाण्डे सोमबार काममै नगएपछि उनको खोजी गरिएको थियो । पाण्डेको खोजीका लागि रोजगारदातामार्फत मंगलबार नै स्थानीय प्रहरीलाई खबर गरिएको उनले बताए ।

बेपत्ता भएका पाण्डेको रेसिडेन्सी कार्ड, बैंक कार्ड र राहदानीका साथै सबै सामान उनी बस्ने कोठामै भेटिएको छ । पाण्डेको नेपालमा बुबाआमा र दिदीबहिनी छन् ।

पाण्डे बेपत्ता भएको खबर दूतावासलाई प्राप्त हुनासाथ तत्काल खोजबिनका लागि स्थानीय प्रहरी प्रशासनलाई खबर गरिएको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले जानकारी दिए । पाण्डे क्रोएसिया हुँदै दुई वर्षअघि पोर्चुगल पुगेका हुन् ।