संखुवासभामा गठबन्धनबाट प्रतिनिधिसभा उम्मेदवार दीपक खड्काले चोक चोकमा उभिएर एमालेका उम्मेदवारलाई प्रश्न गर्न अगुवा कार्यकर्तालाई आग्रह गरेका छन्।
चैनपुरमा आयोजित अगुवा कार्यकर्ता भेलामा खड्काले पाँच वर्ष केही काम नगरी बिताएका एमाले उम्मेदवार राजेन्द्र गौतममाथि प्रश्नको वर्षा गर्न आग्रह गरेका हुन्। “एमालेका साथीहरु र उम्मेदवारलाई चोक चोकमा बसेर प्रश्न गर्नुहोस्। उहाँहरु महामारीका बेला, बाढी पहिरोका बेला कहाँ हुनु हुन्थ्यो,“ उनले भने, “उहाँहरुका हिजोका हावादारी गफमाथि प्रश्न गर्नुहोस्। जनताको आशामाथि तुषारापात गर्ने अधिकार कसैलाई छैन।“
महामारीका बेला संखुवासभाका सांसदहरु कतै नभेटिएको उल्लेख गर्दै खड्काले भने, “डर सबैलाई लाग्छ। तर, डरको बहानामा दायित्वबाट विमुख हुने अधिकार कसैलाई छैन।“
अर्को प्रसंगमा उनले समृद्ध संखुवासभा बनाउने आफ्नो अभियानमा साथ दिन आग्रह गरे। “समृद्ध संखुवासभा मेरो मन मस्तिष्कमा सेट भएर बसेको छ। मलाई साथ दिनुहोस्,“ उनले भने।
गठबन्धनका बेला पनि कांग्रेसले संखुवासभामा जित हासिल नगरे आगामी तीनवटा चुनाव यहाँ नचिहाइ पनि हुने बताए। त्यसैले विगतका मन मुटाव बिर्सेर चुनावी अभियानमा लाग्न उनले अगुवा कार्यकर्तालाई आग्रह गरे।