सामोआविरुद्ध उत्कृष्ट जित निकाल्दै नेपालले आईसीसी टी-ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि जित्न सफल भएको छ । शुक्रबार ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा भएको आफ्नो अन्तिम खेलमा नेपालले सामोआलाई १ सय २४ रनले पराजित गर्यो ।
नेपालले सामोआलाई २ सय १२ रनको चुनौती दिएको थियो । नेपालले प्रस्तुत गरेको २१२ रनको लक्ष्य पछ्याएको सामाओले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै ८७ रन मात्रै बनाउन सक्यो ।
सामाओका लागि सेन सोलियाले ४० र बेन्जामिन माइलाताले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि ललितनाराण राजवंशीले तीन तथा सन्दीप लामिछाने, करण केसी र कप्तान रोहितकुमार पौडेलले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २११ रनको योगफल तयार पारेको थियो । नेपालका लागि आसिफ शेखले ४१ बलमा सात चौका र चार छक्काको मद्दतले सर्वाधक ६९ रनको योगदान गरे । यसैगरी दीपेन्द्रसिंह ऐरीले ३३ बलमा चार छक्का र दुई चौकासहित ५३, लोकेश बमले अविजित ३९, कप्तान रोहितकुमार पौडेलले अविजित २१ र कुशल भुर्तेलले १७ रन बनाए ।
पहिलो विकेटका लागि आसिफ र कुशलले ६४ रनको साझोदारी गरेका थिए । यसैगरी पाँचौं विकेटका लागि लोकेश र रोहितबीच अविजित ५१ रनको साझेदारी भएको थियो । सामाओका लागि ड्यानियल बर्गेस, सौमानी टाई, ड्यारियस भिसर, नुह मिडले समान एक विकेट लिए ।
नेपालले अपराजित रहँदै प्रतियोगिताको उपाधि जितेको हो । प्रतियोगिताअन्तर्गत सुपर सिक्सका खेलमा नेपालले ओमनलाई ३८ रनले पराजित गरेको थियो । त्यसैगरी नेपालले कतारलाई पाँच रन, यूएईलाई एक रनले पराजित गरेको थियो । ग्रुप ‘बी’मा रहेको नेपालले समूह चरणमा जापानलाई ५ विकेट र कुवेतलाई ५८ रनले पराजित गरेको थियो ।
छनोटबाट नेपाल, यूएई र ओमानले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने टी-ट्वान्टी विश्वकपको टिकट काटिसकेका छन् ।