दानबहादुर कार्की आईजीपी नियुक्त

Yangle News
Yangle News
२०८२ कार्तिक २४ गते
दानबहादुर कार्की आईजीपी नियुक्त

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्की महानिरीक्षक (आईजीपी) नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई यही कार्तिक २७ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने निर्णय गरेको सरकार प्रवक्ता सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । कार्की हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुखका रूपमा कार्यरत छन् ।

कार्कीसँगै एआईजी डा. मनोज केसी, राजन अधिकारी र सिद्धिविक्रम शाह प्रतिस्पर्धामा थिए ।त्यसमध्ये वरीयतामा कार्की पहिलो नम्बरमा थिए । हालका आईजीपी चन्द्रकुबेर खापुङ ३० वर्षे सेवा अवधिका कारण यही कार्तिक २६ गते राति १२ बजेदेखि अवकाशमा जाँदैछन् ।

नवनियुक्त कार्की नेपाल प्रहरीको ३३औं महानिरीक्षक हुन् । कार्कीले अहिलेकै अवस्थामा २०८४ चैत १८ गतेसम्म प्रहरी संगठनको नेतृत्व सम्हाल्ने छन् । उनी ०५४ चैत १८ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।

उनी ०६४ सालमा डीएसपी, ०७४ मा एसपी र ०७९ मा एसएसपी भएका थिए । एसएसपीबाट नै उनी आफ्नो ब्याचको पहिलो नम्बरमा बढुवा हुँदै आएका थिए ।