सेयर बजारमा दुई वर्षयताकै उच्च कारोबार

Yangle News
Yangle News
२०८० माघ २ गते
सेयर बजारमा दुई वर्षयताकै उच्च कारोबार

 

सेयर बजारमा दुई वर्षयताकै उच्च कारोबार भएको छ । मंगलबार ८ अर्ब रुपैयाँ माथिको सेयर किनबेच भएको हो । बैंकको ब्याजदर घटेसँगै नेप्सेमा २०७८ माघ २० यताकै उच्च कारोबार भएको हो । नेप्से ५४.५४ अंकले बढेर २१७५.१७ विन्दुमा पुगेको छ ।

१३ वटै उपसमूहले नेप्से बढाएका हुन् । फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै बढेको छ । यो उपसमूहको सूचक ४.७५ प्रतिशतले बढेको छ।

यस्तै, लगानी, लघुवित्त र जलविद्युत उपसमूहको सूचक ३ प्रतिशतभन्दा बढीले बढेको छ । बैंक, विकास बैंक, व्यापार, उत्पादनमूलक र अन्य उपसमूहको सूचक पनि २ प्रतिशत भन्दा धेरै उकालो लागेको छ ।

बजार खुलेदेखि नै नेप्से उकालो लागेको थियो । २१४ कम्पनीको सेयर मूल्य बढेकामा एक दर्जभन्दा बढी कम्पनीको मूल्य सर्किट लागेर उकालो लागेको छ । सर्किट लागेकामध्ये ९ वटा जलविद्युत कम्पनी हुन् ।

८ अर्ब २ करोड रुपैयाँको सेयर कारोबारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ ।

यो कम्पनीको सबैभन्दा धेरै २८ करोड ३१ लाख रुपैयाँको सेयर किनबेच भएको हो । यस्तै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २३ करोड २६ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको २१ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ ।